काठमाडौं । १३ औँ संस्करणको इण्डियन प्रिमियर लिग (आइपीएल) टी–ट्वान्टी क्रिकेटमा साविक उपविजेता चेन्नई सुपर किङ्सले विजयी सुरुवात गरेको छ ।
शनिबार राति युएईको अबुधाबीमा भएको उद्घाटन खेलमा साविक विजेता मुम्बई इण्यिन्सलाई ५ विकेटले पराजित गर्दै चेन्नईले विजयी सुरुवात गरेको हो । मुम्बईले दिएको १ सय ६३ रनको लक्ष्य चेन्नईले १९ ओभर २ बलमा ५ विकेट गुमाएर पुरा गरेको थियो ।
चेन्नईको जितमा अम्बाती रायाडुले ७१ रनको अर्धशतकीय इनिङ्स खेलेका थिए। उनले ४८ बलमा ६ चौका र ३ छक्काको मद्धतले ७१ रन बनाउँदै चेन्नईको जित सहज पारे । यस्तै फाप डुप्लेसिसले अविजित रहँदै ५५ रनको अर्धशतकीय इनिङ्स खेले। खेलमा उनले ४४ बलको सामना गरेर ५५ रन बनाएका हुन् ।
रायडु र डुप्लेसिसले तेस्रो विकेटका लागि १४ ओभरमा ११४ रनको साझेदारी गरेका थिए। साम करनले १८ तथा रबिन्द्र जडेजाले १० रन जोड्दा कप्तान महेन्द्र सिंह धोनी शून्यमा आउट भए ।
मुम्बईका ट्रेन्ड बोल्ट,जेम्स प्याटीनसन, जस्प्रित बुम्राह, हार्दिक पाण्डय र राहुल चाहरले १–१ विकेट लिए । यस अघि टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ९ विकेट गुमाएर १ सय ६२ रन बनाएको थियो । मुम्बईका लागि सौरभ तिवारीले ४२ रन बनाउदा क्विनटन डी ककले ३३ रन बनाएका थिए । चेन्नईका लुंगी एनजिडीले ३ रबिन्द्र जडेजा र दिपक चाहरले २–२ तथा साम करण र पियुस चावालाले १(१ विकेट लिएका थिए ।