नेकपा (दाहाल–नेपाल पक्ष) आक्रामक, हालसम्म ७१ जना पक्राउ


ओकेजनता डेस्क
२२ माघ २०७७, बिहीबार

काठमाडौं । बन्द गराउँदै हिडेका नेकपा (दाहाल–नेपाल पक्ष)का नेता कार्यकर्ताहरु प्रहरीको निशानामा परेका छन् । प्रहरीले हालसम्म ७१ जनालाई पक्राउ गरेको छ ।

काठमाडौंबाट ७० जना प्रहरी नियन्त्रणमा छन् । १ जना भक्तपुरबाट पक्राउ गरेका छन् । सडकमा प्रहरी र सशस्त्रहरुको ठूलो संख्या तैनाथ छ ।

गृहमन्त्रालयले पसल, व्यवसाय सञ्चालन गर्न भनेपनि सडकमा दाहाल–नेपाल पक्षका कार्यकर्ताको प्रभावका कारण सबै व्यवसाय ठप्प प्रायः छ ।

आज बिहानै काठमाडौंमा ट्याक्सीमा आगजनी भएको छ । बन्दको अवज्ञा गरेको भन्दै ट्याक्सीमा आगजनी गरिएको नेकपा (दाहाल–नेपाल पक्ष) का नेताको भनाइ छ ।

आजै कलंकीबाट नेकपा नेता अष्टलक्ष्मी शाक्य, हितमान शाक्य पक्राउ परेका छन् । अहिले पनि प्रहरीले सडकमा निगरानी बढाएको छ । प्रहरीले अराजक गतिविधमा संलग्नलाई पक्राउ गर्ने नीति अख्तियार गरेको छ ।

यता, दाहाल–नेपाल पक्षका नेता, कार्यकर्ताले प्रधानमन्त्री केपी शर्मा ओलीको दमनकारी नीति भएको भन्दै विरोध जनाएको छ । आजको बन्दको प्रभाव हेरेर अन्य कार्यक्रम तय गर्ने नेकपाको तयारी छ ।

शान्तिपूर्ण रुपमा गरिएको बन्दलाई प्रहरीले उग्र बनाउन खोजेको दाहाल–नेपाल पक्षका नेताको दाबी । उनीहरुले सरकारको दमन नसहने र झन खरो रुपमा प्रस्तुत हुने बताउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्