सिँचाईपछि रहरलाग्दो उत्पादन


ओकेजनता डेस्क
४ आश्विन २०७७, आईतवार

दाङ । लमही नगरपालिका वडा नम्बर ३ फल्कापुरमा कुनै समय थियो आकाशे पानीको भरमा धान खेती हुन्थ्यो । पानी प¥यो भने मात्रै खेत जोत्न किसान घरबाट निस्कन्थे । सिँचाइको अभावमा धेरै समय खेत बाँझै रहे । तर, अहिले त्यस्तो छैन । जतीबेला पनि किसानले खेतबारी सिँचाइ गर्न सक्छन् । सिँचाइ सुविधा पुगेपछि अन्न उत्पादन पनि बढेको छ ।

करिब ८० बिगाह खेतमा एकै प्रकारको विधिले धान खेती गरिएको छ । अहिले धानको बाला झुल्न थालेको छ । सिँचाइ सुविधा सहज भएपछि कलमे विधिबाट धानको बिउँ सारेर धान खेती गरिएको हो । यो विधिबाट धान खेती गरेका यहाँ किसानले उत्पादन बढेको अनुभव सुनाउने गरेको छन् । ‘धानको बिउ कलमे गर्दा धानमा पोपटा हुँदैन’, किसान खुमप्रसाद पौडेलले भने, ‘धान उत्पादन पनि बढेको छ । गाउँमा अहिले यही विधिबाट खेती गरिएको छ ।’

सिँचाइ सुविधा नहुँदा ६ महिना मात्रै खान पुग्ने अन्न उत्पादन हुन्थ्यो । सिँचाइ सुविधा पुगेपछि वर्षभरी खान पुग्ने धान, गहुँ, मकै उत्पादन हुने गरेको छ । २५ वर्ष अघि सबै भन्दा पहिले यहाँ जमिन मुनीको पानी तान्न डिप बोरिङ्ग धसिएको थियो । त्यही डिप बोरिङ्गको पानीले अहिलेसम्म सिँचाइ सुविधा पुगेको छ ।

खुमप्रसाद पौडेलले ७ कट्ठा खेतमा रोपेको धान पाक्न थालिसकेको छ । ‘लकडाउनले गर्दा पनि धान खेतीमा धेरै समय दिन पाइयो । स्याहार सुसार बढेपछि धान पनि राम्रो भएको छ’पौडेलले भने–‘आकाशबाट पनि पानी राम्रो प¥यो । सिँचाइ पनि पुग्यो । धानको बाला राम्रो लागेको छ।’

यो बोरिङ्गमा पानीको स्रोत राम्रो छ । बोरिङ्ग सञ्चालनमा आएदेखि पानीको स्रोतमा धेरै फरकपना आएको छैन । एकैनास पानी आइरहेको छ । एक सेकेण्डमा ६५ लिटर सम्म पानी आउथ्यो । अहिले एक सेकेण्डमा ४५ देखि ५० लिटर पानी आउने गरेको वडा सदस्य कृष्ण घिमिरेले जानकारी दिए । ‘पानी राम्रो भएकाले सिँचाइ सुविधा पनि पुगेको छ’उनले भने–‘यो गाउँको समृद्धि यही पानीबाट भएको हो ।’

डिप बोरिङ्गको पानी खेतसम्म पु¥याउन जमिनमुनि पाइप बिस्तार गरिएको छ । प्लास्टिकको पाइप भएकाले पाइपहरु फुट्न थालेको छ । पाइपहरु फेर्न नसक्दा पानी चुहावट हुने गरेको बोरिङ्गका अपरेटर रामप्रसाद पौडेलले बताए । ‘साबिक राप्ती अञ्चलकै पुरानो डिप बोरिङ्ग यही हो । अहिले पुरानो र जीर्ण हुन थाल्यो’ उनले भने–‘पक्की कुलो चाहियो । दुई किलोमिटर जति कुलो बनाउनुपर्छ ।’

प्रतिक्रिया दिनुहोस्