यी मन्त्रीबाट के आश, भने– ‘श्री ५ को सरकारका तर्फबाट लालसलाम


ओकेजनता डेस्क
१८ माघ २०७७, आईतवार

काठमाडौं । जनताको त्याग र बलिदानले व्यवस्था नै खारेज भइसकेको समयमा ओली सरकारका एक मन्त्रीले श्री ५ लाई सम्झिएका छन् ।

खानेपानी तथा सरसफाई मन्त्री मणि थापाले नेकपा ओली पक्षको सुर्खेत जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै भने, ‘श्री ५ को सरकारको तर्फबाट लालसलाम टक्र्याउँछु ।’

मन्त्री थापाले अगाडि भने, ‘हामीलाई थाहा छ हामी किन यहाँ उपस्थित भयौँ । नेपालमा राजनीतिक क्रान्ति सकियो । सबै राजनीतिक क्रान्ति र आन्दोलनको अब मिनिङ छैन । २००७ सालदेखिको राजनीतिक क्रान्ति अब सकियो । अब आर्थिक क्रान्ति चाहिएको छ । नेपालीले देशमै रोजगार पाउनु पर्यो । राजनीतिक क्रान्तिको अर्थ अब जुलुस, हड्ताल बन्द गर्नुस्, बन्दुक बोक्नुस् तर देश चेन्ज भएन भने त्यसको कुनै अर्थ हुँदैन । प्रधानमन्त्री फेर्दैमा मात्रै केही हुँदैन ।’

उनले नेपालमै रोजगारी नपाएसम्म, शान्ति सुरक्षा नपाएसम्म देश परिवर्तन भएको मान्न नसकिने बताए । देशमै पढ्न नपाएर विदेशका स्कुल कलेज जानु पर्ने बाध्यता नहटेसम्म देश विकास भएको नमानिने उनले बताए ।

नेकपाका स्थायी समिती समेत रहेका थापाले नेपाली जनताले आफ्नै देशमा गास, बास, कपास पाउनु पर्ने बताए । जनताले आफ्नै देशमा शान्ति सुरक्षा, शिक्षा तथा रोजगारी पाउनु पर्नेमा उनले जोड दिए ।
मन्त्री थापाले भने, ‘अब यहाँ पूर्वएमाले, पूर्वमाओवादी छैनन्, अब यहाँ नयाँ कम्युनिष्ट पार्टीको गुण छ । नयाँ आन्दोलनको गुण छ ।’

प्रतिक्रिया दिनुहोस्