स्पेनिस ला लिगामा रियल मड्रिड पराजित


ओकेजनता डेस्क
१८ माघ २०७७, आईतवार

काठमाडौं । स्पेनिस ला लिग फुटबलमा साविक विजेता रियल मड्रिड पराजित भएको छ ।

शनिबार राति भएको खेलमा १० खेलाडीमा समेटिएको रियल लेभान्टेसँग २–१ गोल अन्तरले पराजित भएको हो ।

घरेलु मैदानमा सुरुवाती अग्रता जोगाउन नसक्दा रियलले हार व्यहोरेको हो । खेलको नवौं मिनेटमा इडर मिलिटाओले रातो कार्ड पाएपछि रियल १० खेलाडीमा समेटियो ।

तर, खेलको १३ औं मिनेटमा मार्को एसेन्सियोले गोल गर्दै रियललाई १–० को अग्रता दिलाए ।

खेलको ३२ औं मिनेटमा जोसे लुइस मोरालेसले गोल गर्दै लेभान्टेलाई १–१ गोलको बराबरीमा फर्काए ।

त्यसपछि खेलको ७८ औं मिनेटमा रोजर्सले गोल गर्दै लेभान्टेलाई २–१ को जित दिलाए ।

त्यसअघि खेलको ६४ औं मिनेटमा रोजर्सले पेनाल्टीमा गोल गर्न सकेनन् । रोजर्सको प्रहार रियलका थिबाउट कोर्टुवाले बचाए ।

हारसंगै रियलले शीर्ष स्थानको एट्लेटिको मड्रिडविरुद्ध अंक दुरी कम गर्ने मौका गुमाएको छ ।

एट्लेटिकोको ४७ अंक रहेको छ । दोस्रो स्थ्न्को रियलले २० खेलमा ४० अंक जोडेको छ ।

लेभान्टे २६ अंक जोडेर नवौं स्थानमा उक्लिएको छ ।

प्रतिक्रिया दिनुहोस्