अपमान सहेर मुलुक जोगाउन खोजे, ओलीको दम्भ हटेन : प्रचण्ड


ओकेजनता डेस्क
१७ माघ २०७७, शनिबार

काठमाडौं । नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकलाई स्थीरता तर्फ लैजान गरिएको सम्झौता प्रधानमन्त्री ओलीकै कारण टुटेको बताएका छन् ।

ओलीलाई प्रधानमन्त्री भइसकेपछि दम्भ जागेको भन्दै प्रचण्डले एकपटक पुनः मुलुक आन्दोलनमा होमिनुपर्ने बेला आएको बताए ।

कैलालीको धनगढीस्थित खुला मञ्चमा भएको कार्यक्रममा बोल्दै प्रचण्डले सुदुरपश्चिममा जम्मा भएको मास ऐतिहासिक भएको बताए ।

बाम गठबन्धनलाई बलियो बनाउने र ७१ वर्षे कम्युनिष्ट इतिहासलाई जोगाउने लक्ष्यका साथ अघि बढेको नेकपालाई प्रधानमन्त्री ओलीले तुहाउन खोजेपनि त्यो सफल नहुने बताए ।

ओलीको प्रतिगमनविरुद्ध जनता जागिसकेको बताउँदै प्रचण्डले अब नेपालमा न द्वन्द्व हुन्छ, न तानाशाह प्रवृत्ति चल्छ ।

अहिलेको युग मुलुकलाई विकास तर्फ लैजाने भएको भन्दै प्रचण्डले त्यो बाटो ओलीले बिराएको दाबी गरे । सबै समुदायको हकहितका लागि लाग्नुपर्ने समयमा ओलीले सिंगो व्यवस्था नै धरापमा पार्न खोजेको औँल्याए ।

सुदूरपश्चिम प्रदेशलाई राज्यले हेर्ने नजरमा परिवर्तन भइसकेको बताउँदै प्रचण्डले ओलीले झन फुटाउन खोजेको बताए ।

प्रधानमन्त्री ओलीले कलंकको टीका लगाएको र आफूलाई यो दृष्यले दुखी तुल्याएको प्रचण्डको भनाइ छ ।

प्रधानमन्त्रीले पाँच वर्ष सत्ता चलाउने र आफूले पार्टीलाई हाँक्ने गरी भएको निर्णयमा समेत ओलीले अड्डी थापेको बताए ।

ओलीकै कारण आफू बेलाबेलामा अपमानित भएको प्रचण्डको दाबी छ । देशको स्थिरता र विकासलाई आफूले अपमान सहेर पनि जोगाउन खोज्दा पनि ओलीको चेत नफिरेको प्रचण्डको तर्क छ ।

प्रतिक्रिया दिनुहोस्