काठमाडौं । निर्वाचन आयोगले निर्वाचन तयारी र दल दर्ताबारे छलफल गर्न नेकपाका दुवै अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड समूहलाई पुनः बोलाउने भएको छ ।
निर्वाचन तयारीका विषयमा छलफल गर्न शुक्रबार बोलाइएको बैठकमा थप समय माग गरी दाहाल–नेपाल समूह अनुपस्थित भएपछि आयोगले नेकपाका दुवै अध्यक्ष समूहलाई पुनः बोलाउने भएको नागरिक दैनिकमा खबर छ ।
निर्वाचन आयोगले गत साता मात्रै विवाद सुरु हुनुअघि साबिककै नेकपाको व्यवस्थालाई मान्यता दिँदै कानुनी रूपमा नेकपा एक भएको निष्कर्ष निकालेको थियो ।
आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्ने सूचना प्रकाशन गर्न र आयोगको तयारीका सम्बन्धमा छलफल गर्न नेकपाका दुवै अध्यक्ष ओली र दाहाल समूबाट पाँचपाँचजनालाई बोलाइए पनि दाहाल समूह थप समय माग्दै अनुपस्थित भएपछि ओली पक्षका नेताहरूसँग निर्वाचन तयारीबारे अनौपचारिक छलफल भएको बताए ।