काठमाडौं । आगो ताप्ने क्रममा शरीर जलेर गम्भीर घाइते भएकी खोटेहाङ गाउँपालिका वडा नम्बर ७ खोटाङ बजारस्थित धनमुढाकी १०१ वर्षीया हिमादेवी अधिकारीको शुक्रबार मृत्यु भएको छ ।
गाईवस्तुलाई खोले पकाउन बालिएको आगो ताप्ने क्रममा शुक्रबार बिहान लुगामा आगो सल्किएर शरीर नै जलेपछि गम्भीर घाइते भएकी हिमादेवीको उपचारको क्रममा मृत्यु भएको हो ।
शरीरमा लगाएको लुगाबाट सल्किएको आगोले जलेर गम्भीर घाइते भएकी हिमादेवीको घरैमा स्वास्थ्यकर्मी झिकाएर उपचार गराउने क्रममा मृत्यु भएको वडाध्यक्ष शिवप्रसाद फुयाँलले बताए ।
मृतक हिमादेवी सो गाउँपालिकाभरिकै सबैभन्दा ज्येष्ठ नागरिक थिइन् । वडाध्यक्ष फुयाँलका अनुसार वृद्धावस्थामा पुगेका कारण हिमादेवी लामो समयदेखि बोल्न असमर्थ थिइन् ।
लुगा डढेको गन्धका आधारमा आफन्तले थाहा पाएपछि हिमादेवीलाई जलिरहेको अवस्थामा उद्धार गरिएको थियो ।
हिमादेवीको मृत्यु भएको बारेमा थप जानकारी आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता प्रहरी निरीक्षक गोविन्द साहले बताए । मृतक हिमादेवीको शव परीक्षणका लागि प्राथमिक स्वास्थ्य केन्द्र चिसापानी पठाइएको गाउँपालिका प्रमुख प्रदीप राईले जानकारी दिए ।
यता, निर्माण हुँदै गरेको घरको दोस्रो तलाबाट खसेर शुक्रबार एक मजदूरको मृत्यु भएको छ ।
मध्यपुरथिमि नगरपालिका वडा नम्बर ६ कुण्डोलमा ठाकुर अधिकारीले बनाउँदै गरेको पक्की घरको दोस्रो तलाबाट खसेर काभ्रेपलाञ्चोक बेथानचोक गाउँपालिका वडा नम्बर ६ घर भई हाल मध्यपुर थिमि नगरपालिका वडा नम्बर ६ कुण्डोल बस्ने मजदूर ४० वर्षीय प्रेम मगरको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए ।
घरको दोस्रो तलाबाट खसेलगत्तै अन्य मजदूरले उपचारका लागि मध्यपुर अस्पतालमा लैजाँदा उपचारका क्रममा मगरको मृत्यु भएको प्रहरीको भनाइ छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रनाउ गिरीले जानकारी दिए ।