काठमाडौं । प्रधानमन्त्री कप (पीएम कप) एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिताको फाइनल खेल आज (शनिबार) हुँदैछ ।
टियु क्रिकेट मैदानमा हुने फाइनलमा दुई विभागीय टिम एपीएफ क्लब र त्रिभुवन आर्मी क्लब भिड्ने छन् ।
एपीएफ र आर्मीबीचको विभागीय डर्बी भिडन्त बिहान ९ बजे सुरु हुनेछ । चौंथो संस्करणको फाइनलमा मैदान उत्रदा एपीएफ र आर्मी उपाधि आफ्नो बनाउने लक्ष्यमा हुनेछ ।
एपीएफका कप्तान शरद भेषवाकर र आर्मीका कप्तान विनोद भण्डारी दुबै उपाधि जित्नेमा आशावादी छन् ।
’फाइनल पुग्नु खुसीको कुरा हो । फाइनल बाँकी छ । आशा छ भोलि राम्रो हुनेछ,’ एपीएफका कप्तान शरदले भने, ’टिमले राम्रो खेलिरहेको छ । चुनौतिपूर्ण अवस्थामा पनि राम्रो भएको छ ।’
एपीएफ अपराजित रहदै फाइनल पुगेको हो । पहिलो खेलमा एपीएफले प्रदेश-१ लाई १ सय ३५ रनले हराएको थियो । यस्तै दोस्रो खेलमा गण्डकी प्रदेशलाई ६ विकेटले हराएको एपीएफले तेस्रो खेलमा कर्णाली प्रदेशलाई ७१ रनले हराएको थियो ।
समूह चरणको अन्तिम खेलमा आर्मीलाई ६ रनले हराएर एपीएफ समूह विजेता बनेको थियो । सेमिफाइनलमा एपीएफले नेपाल पुलिस क्लबलाई ३० रनले हराएको थियो ।
अपराजित यात्राले उत्साहित शरद आर्मीविरुद्धको फाइनलमा उत्कृष्ट टिम उतार्ने बताउछन् । शरदले फाइनलमा आफ्नो व्यक्तिगत प्रदर्शनमा समेत सुधार गर्ने बताए ।
समूह चरणमा आर्मी एपीएफसँग ६ रनले पराजित भएपनि अन्य खेलमा विजयी भएको थियो ।
आर्मीले पहिलो खेलमा गण्डकी प्रदेशलाई ९८ रनले हराएको थियो । यस्तै कर्णालीविरुद्ध ८० रनको जित निकालेको आर्मीले प्रदेश १ विरुद्ध ४ विकेटको जित निकालेको थियो ।
आर्मीले सेमिफाइनलमा बागमती प्रदेशलाई ९४ रनले हराएर एपीएफसँगको भेट पक्का गरेको हो ।
आर्मी फाइनलमा भने एपीएफसँग अघिल्लो भेटमा व्यहोरेको हारको बदला लिन चाहन्छ ।
पीएम कप क्रिकेटको इतिहासमा आर्मी लगातार फाइनल खेल्ने एक्लो टिम हो । तर, पहिलो संस्करणमा पुलिससँग उपाधि बाडेको आर्मी फाइनलमा चुक्दै आएको छ ।
यसपटक भने आर्मी गल्ति दोहोर्याउने पक्षमा छैन । एपीएफविरुद्ध आर्मी सहज भने हुनेछ ।