काठमाडौं । नेकपा ओली पक्षका नेता सुवासचन्द्र नेम्बाङलगायतले निर्वाचन आयोगले आफूहरुलाई आधिकारिकता दिएको बताएपछि आयोगले नेकपाको कुनै एउटा समूहलाई आधिकारिता प्रदान नगरेको प्रष्ट पारेको छ ।
नेकपाका दुवै गुट कसैलाई पनि आधिकारिकता नदिएको र अबको छलफलबाट त्यसको प्रारम्भ हुने आगोगको भनाइ छ ।
संसद विघटनसँग विभाजित नेकपाको दाहाल–नेपाल पक्षले बहुमत केन्द्रीय सदस्यको बैठक राखेर केपी शर्मा ओलीलाई अध्यक्षबाट हटाएर माधवकुमार नेपाललाई चयन गरेको छ ।
ओली पक्षले भने २०७८ मंसिरमा महाधिवेशन गर्ने गरी केन्द्रीय कमिटी विस्तार गर्दै विवरण अध्यावधिक गर्न निर्वाचन आयोगलाई पत्राचार गरेको थियो ।
तर, माघ ११ मा बसेको निर्वाचन आयोगको बैठकले दुवै पक्षको दाबी अस्वीकार ग¥यो ।
यससँगै कानुनीरुपमा नेकपाको अध्यक्ष ओली र प्रचण्ड रहे भने केन्द्रीय कमिटी ४४१ सदस्यीय नै कायम भयो ।
यो निर्णयसँगै ओली पक्षका नेताहरुले आयोगले ओलीलाई प्रमुख पदाधिकारी मानेकाले आफूहरु आधिकारिक भएको दाबी गरेका थिए । तर आयोगले शुक्रबार दुवै समूहलाई छलफलमा बोलायो ।
यद्यपि दाहाल–नेपाल पक्षले अध्यक्षद्धय राजनीतिक कार्यक्रमका क्रममा उपत्यका बाहिर रहेको भन्दै केही दिन समय दिन आग्रह गरेको छ ।