बल्ल बोले सुवासचन्द्र नेम्बाङ, शंका नगर्नुहोस् !


ओकेजनता डेस्क
१६ माघ २०७७, शुक्रबार

काठमाडौं । नेकपा ओली पक्षका नेता सुवासचन्द्र नेम्बाङले निर्वाचन आयोगले आधिकारिकता प्रदान गरिसकेको बताउँदै अब चुनावमा जान दाहाल–नेपाल पक्षलाई सुझाएका छन् ।

आज निर्वाचान आयोगले बोलाएको छलफलमा सहभागी हुन पुगेका नेम्वाङले बाहिरिने क्रममा नेकपा विवादमा आयोगले आधिकारिकता टुंगो लगाइसकेको भन्दै ओली नेतृत्वको नेकपा नै आधिकारिक भएको दाबी गरे ।

उनले निर्वाचन आयोगको भनाइअनुसार निर्वाचन गर्न पर्याप्त समय समेत रहेको भन्दै ८४ दिन भए पुग्नेमा त्यो भन्दा धेरै दिन रहेकाले तोकिएकै मितिमा निर्वाचन हुने बताए ।

निर्वाचन अहिले महत्वपूर्ण भएको भन्दै नेम्बाङले आफुहरु लागिरहेको र यही कुरालाई अगाडि सार्दै निर्वाचन तोकिएको समय र मिति वैशाख १७ र २७ गते हुनेमा आशंका नगर्न आग्रह गरे ।

आधिकारिकताबारे थप प्रष्ट पार्दै उनले भने, ‘हाम्रो बुझाइमा हामी आधिकारिक हौँ भन्नेमा हामीलाई विश्वास छ । केही साथीहरुलाई हामी आधिकारिक हौँ भन्ने उहाँहरुको बुझाइ छ । यो प्रक्रियाबाट टुंगिसकेको विषय भएकाले त्यही जगमा उभिएर हामी अगाडि बढ्दैछौँ । अब दल दर्ताको प्रक्रियामा जानुपर्छ, निर्वाचनबाट सबै कुरा टुंगो लाग्छ ।’

प्रतिक्रिया दिनुहोस्