शहीद दिवसको अवसरमा आज सार्वजनिक बिदा


ओकेजनता डेस्क
१६ माघ २०७७, शुक्रबार

काठमाडौं । शहीद दिवसको अवसरमा बैतडीको दशरथचन्द नगरपालिकाले आज सार्वजनिक बिदा दिएको छ ।

शहीद दशरथ चन्दको जन्मभूमिमा विशेष कार्यक्रम आयोजना गरी शहीद दिवस मनाइने भएकाले नगर क्षेत्रमा सार्वजनिक विदा दिइएको हो ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विक्रमबहादुर चन्दका अनुसार नगरपालिकाभित्र पर्ने सबै शैक्षिक संस्था, वडा कार्यालय र नगरपालिकाको कार्यालय आज बन्द रहेका छन् ।

यसैबीच शहीद दशरथ चन्द स्मृति प्रतिष्ठानले आज सुन्दरखालीबाट ¥यालीसहित शहीद चन्दको घरमा पुगेर श्रद्धाञ्जलीसभा आयोजना गर्दैछ ।

जहानियाँ राणा शासनको विरुद्ध लागेको भन्दै तत्कालीन शासकले दशरथ चन्दलाई १९९७ माघ १५ गते काठमाडौंको शोभा भगवतीमा गोली हानी हत्या गरेका थिए ।

मुख्य गरी राणा शासनको अन्त्यका लागि शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, गंगालाल श्रेष्ठ र दशरथ चन्दको संघर्ष र बलिदानको स्मरणका रुपमा शहीद दिवस मनाउन थालिएको हो । बिभिन्न संघ संस्थाको पहलमा हरेक वर्ष माघ १० देखि १६ सम्म शहीद सप्ताह मनाउने गरिएको छ ।

राणा शासनबिरुद्ध नेपाल प्रजा परिषद् स्थापना गरी जनतालाई सूसुचित पार्ने क्रान्ति गरेको अभियोगमा तत्कालीन राणा शासकले विक्रम सम्वत् १९९७ माघ १० गते शुक्रराजलाई टेकुस्थित खरीको रुख तथा माघ १३ गते धर्मभक्तलाई सिफलमा झुन्ड्याएर मृत्युदण्ड दिएका थिए ।

माघ १५ गते गंगालाल र दशरथलाई शोभा भगवती मन्दिर नजिकै गोली हानी हत्या गरिएको थियो । शहीद दिवसका दिन सरकारले सार्वजनिक विदा दिने गरेकामा गएका केहि वर्षदेखि कटौती गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्