काठमाडौं । नेकपाका दुवै पक्षलाई निर्वाचन आयोगले छलफलका लागि बोलाएको छ ।
आयोगले केपी शर्मा ओली र पुष्पकमल दाहाललाई छुट्टाछुट्टै पत्र लेखी निर्वाचनसम्बन्धी छलफलका लागि अध्यक्ष र अध्यक्षले तोकेका आधिकारिक व्यक्ति गरी ५–५ जनालाई बोलाएको हो ।
शुक्रबार विहान साढे ११ बजे छलफलका लागि बोलाएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।
आयोगले पठाएको पत्रमा दलसम्बन्धी विवादबारे छलफल गर्ने भनिएको छैन । तर अहिले नेकपा विवादको सन्दर्भ भएकाले त्यस विषयमा पनि छलफल हुने आयोगको भनाइ छ ।
आगामी निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न सूचना प्रकाशन गर्ने समय आउन लागेकाले त्यस विषयमा छलफल गर्न लागेको प्रवक्ता श्रेष्ठले बताए ।
त्यस्तै निर्वाचनसम्बन्धी कानुनमाथि छलफल र निर्वाचनको तयारीका विषयमा पनि छलफल हुने उनको भनाइ छ ।
यसअघि नेकपाको दुईवटै पक्षले आफूलाई आधिकारिक दावी गर्दै आयोगमा दिएको निवेदनमा निर्णय गर्दै आयोगले दुबै पक्षको दावी नपुग्ने बताएको थियो ।