बद्री पंगेनीको फोन, ‘मन्त्रीज्यू माघ २२ आउन हप्तादिन मात्रै बाँकी छ’


ओकेजनता डेस्क
१५ माघ २०७७, बिहीबार

काठमाडौं । सरकारले उखु किसानको रकम भुक्तानी गर्ने दिन माघ २२ गते आउन अब एकहप्ता मात्रै बाँकी छ । तर, किसानको पैसा दिन उद्योगीले आनाकानी गरिरहेका छन् ।

सरकारले उद्योग बेचेर भएपनि उखु किसानको रकम दिने प्रतिवद्धता जनाएको छ । तर, त्यो अनुसार द्रुत गतिमा काम हुन सकेको छैन । उखु किसानको लाखौं रुपैयाँ भुक्तानी नदिएको आरोपमा अन्नपूर्ण एवं इन्दिरा सुगर मिलका सञ्चालक राकेश अग्रवाललाई प्रहरीले बुधबार पक्राउ पनि गरेको छ ।

त्रिपुरेश्वरस्थित घरबाटै उनलाई बुधबार पक्राउ गरिएको काठमाडौंका प्रहरी प्रमुख एसएसपी अशोक सिंहले बताए । अग्रवालविरुद्ध ठगी सम्बन्धी कसूरमा किटानी जाहेरी परेको छ ।

गत ३० मंसिरमा उखु किसानलाई भुक्तानी नदिने उद्योगलाई पक्राउ गरी रकम असूल्ने निर्णय गृह मन्त्रालयले गरेको थियो । यसअघि २०७५ कात्तिकमा पनि उनी उखु किसानलाई भुक्तानी नदिएको अभियोगमा पक्राउ परेका थिए ।

किसानका आँखामा देखिएका आँशुलाई सहन गर्न नसकी सामाजिक अभियन्ताले उनीहरुको रकम दिलाउन माग गरेका छन् । सामाजिक अभियन्ता मात्रै होइन कलाकार बद्री पंगेनी पनि किसानको उखुको पैसा तुरुन्त दिलाउनुपर्ने बताउँदै आएका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘मैले भने– मन्त्री ज्यु नमस्कार ! उखु किसानलाइ भुक्तानी गर्ने समय माघ २२ आउन अब एक हप्ता बाँकी छ । मन्त्री ज्यु ले भन्नूभो– १४ करोड भुक्तानी गरिसकियो अब बाँकी भुक्तानीको लागि तयारी हुदैछ भाइ भन्दै….. कृषि र उद्योग मन्त्रालयको सचीवहरुलाइ फोन गर्न थाल्नु भो,

जानकारी : म कुनै अभियन्ता, नेता, वा समाजसेवी होइन मात्रै किसानको मुहारमा खुसी छाउछ कि भन्ने चाहना हो सानो प्रयास हो ।

प्रतिक्रिया दिनुहोस्