बाह्रबीसे पहिरो : ९ जनाको मृत्यु, बेपत्ताको खोजीकार्य जारी


ओकेजनता डेस्क
३१ भाद्र २०७७, बुधबार

काठमाडौं । सिन्धुपाल्चोकमा गएको पहिरोमा परी हराएका मध्ये ९ जनाकोे शव फेला परेको छ ।

जिल्लाको बाह्रविसे नगरपालिकाका भिरखर्क, नागपुजे र चाङसारमा पहिरोले २२ घर पुरिएका छन् । पहिरोमा परी २६ जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । गएराति परेको वर्षाका कारण ठाडो खोलाले बस्तीमा क्षति प¥ुयाएको हो । पहिरोमा परेका मध्ये भक्तीमाया श्रेष्ठ र जुनु बिकको सनाखत भएको छ ।

पहिरोबाट घाइते ३ जनाको उद्धार गरी स्थानीय अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय बाह्रबिसेले जनाएको छ । प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले क्षतिको एकिन विवरण आइनसकेको बताउनु भयो । सभामुख अग्निप्रसाद सापकोटाले सिन्धुपाल्चोकको घुम्थाङमा गएको पहिरोको अवलोकन गर्नुभएको छ ।

सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानेका अनुसार स्थलमार्ग हुँदै सभामुख घटनास्थलमा पुग्नुभएको हो । पहिरोबाट पुरिएकाहरुको स्थानीय र प्रहरीले खोजीकार्य जारी राखेका छन् । यसैबीच, बागलुङको जैमिनी नगरपालिका वडा नमबर १ कुश्मीशेरामा पहिरोले घर पुरिँदा एक वृद्धाको मृत्यु भएको छ । आज बिहान ५ बजे घर माथिबाट खसेको पहिरोले ६० वर्षीया लक्ष्मी पौडेलको मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस्