शेरधन राईलाई विवाहको हाँसो, मुख्यमन्त्री पद पासो !


ओकेजनता डेस्क
१४ माघ २०७७, बुधबार

काठमाडौं । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले भर्खरै विवाह गरे । उनले २३ वर्षीया युवतीसँग लगनगाँठो कसे । विवाहपछि उनीविरुद्ध पेश भएको अविश्वासको प्रस्ताव पारित हुने–नहुने टुंगो लाग्ने थियो ।

यता, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल पक्षका नेता भीम आचार्यले प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव पारित हुने बताएका छन् । विराटनगरमा पत्रकार सम्मेलन गर्दै उनले प्रदेशसभाको अबको बैठकमा उक्त प्रस्ताव पारित हुने बताए ।

गत पुस १२ गते नेकपा प्रचण्ड–माधव समूहले मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्दा आचार्यलाई मुख्यमन्त्रीको रुपमा अघि सारेको छ ।

७ माघमा प्रदेश १ को सातौं हिउँदे अधिवेशनको पहिलो बैठक करिब ३ मिनेट बसेर अनिश्चितकालका लागि स्थगित भएको थियो ।

प्रदेश १ मुख्यमन्त्री शेरधन राईको विवाहका कारण प्रदेश १ को हिउँदे अधिवेशन केही दिनलाई रोकिएको उल्लेख गर्दै आचार्यले अविश्वासको प्रस्तावमा प्रतिपक्षी दलहरुले पनि समर्थन गर्ने बताए ।

अविश्वासको प्रस्ताव पारित गर्ने र त्यसपछि सरकार गठनका विषयमा प्रतिपक्षी दलसँग सहकार्य गर्ने उनले बताए ।

बुधबार पत्रकार सम्मेलन गर्दै उनले अविश्वासको प्रस्ताव पास गराएर कांग्रेससँग सरकार र पदीय भागवण्डाका विषयमा छलफल हुने बताए ।

अविश्वसको प्रस्तावमा हस्ताक्षर गरेका पाँचजनाले हस्ताक्षर फिर्ता लिएपनि पार्टीको संसदीय दल भित्र आफ्नो समूहको स्पष्ट बहुमत रहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्