नेकपा फुट्यो भने यस्तो नतिजा आउनेछ, बामदेवले गरे सार्वजनिक


ओकेजनता डेस्क
१४ माघ २०७७, बुधबार

काठमाडौं । नेकपा उपाध्यक्ष बामदेव गौतमले दाहाल–नेपाल पक्ष र ओली पक्ष दुवैको हठका कारण पार्टी विभाजनको दिशामा गएको आरोप लगाएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेलगत्तै नेकपा दुई फ्याक भएका बेला उपाध्यक्ष गौतमले औपचारिक रुपमा पार्टी एकता राष्ट्रिय अभियान घोषणा गरेका छन् ।

ललितपुरको धोबीघाटस्थित सिद्धार्थ कटेजमा औपचारिक कार्यक्रम गरी नेकपा एकता राष्ट्रिय अभियानको घोषणा गरिएको हो ।

गत पुस ५ गते संसद विघटन भएपछि नेकपा विभाजित अवस्थामा छ । एउटा खेमाको नेतृत्व प्रधानमन्त्री ओलीले र अर्को खेमाको नेतृत्व दाहाल–नेपालले गरेका छन् ।

दुवै पक्षले एकअर्का पक्षका नेताहरुलाई कारबाही गर्ने, संगठन पुनर्गठन गर्ने र देशव्यापी सभा गर्दै गालीगलौजमा उत्रिने गर्दै आएका छन् ।

उपाध्यक्ष गौतम भने हालसम्म तटस्थ देखिएका छन् । पार्टी कार्यकर्ताको ठूलो पंक्ति अहिले पनि नेकपा विभाजन नहोस् भन्ने पक्षमा रहेको भन्दै गौतमले नेकपा एकता राष्ट्रिय अभियान सञ्चालन गर्दै आएका छन् ।

पार्टी एकता राष्ट्रिय अभियान घोषणा गर्दै गौतमले मतको नयाँ प्रक्ष्येपण समेत सार्वजनिक गरेका छन् ।

उनले भनेका छन्, ‘नेकपाले २०७४ सालको निर्वाचनमा प्राप्त गरेको मत ४३ लाख हो, नेपाली कांग्रेसले पाएको मत ३० लाख हो । निर्वाचनमा अहिले सहभागी हुने नयाँ पुस्ताले सरकारमा भएको पार्टीलाई मत दिने सम्भावना कम छ । समग्रमा नेकपाले २१ लाख मात्रै मत पाउने स्थिति छ । दुईचार ठाउँमा जित्न सकिएला तर ठूलो पराजय व्यहोर्नुपर्नेछ । फुटेर गयो भने मत विभजित हुनेछ ।’

प्रतिक्रिया दिनुहोस्