नेकपाको अभिलेख अद्यावधिक भयो, आयोग जाँदा यस्तो हुनेछ !


ओकेजनता डेस्क
१४ माघ २०७७, बुधबार

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका दुई पक्षले केन्द्रीय सदस्यको अद्यावधिकका लागि निर्वाचन आयोगमा दिएको निवेदनमाथि आयोगले आफ्नो निर्णय सार्वजनिक गरिसकेको छ ।

आयोगले पुस ५ गतेपछिका नेकपाका सबै निर्णयलाई बदर हुने गरी निर्णय गरेको छ ।

आयोगले भनेको छ, ‘विद्यमान नेकपा नै अहिलेसम्म कायम छ, नेकपाका ४४१ जना केन्द्रीय सदस्यको आयोगमा अभिलेख छ, पार्टीका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल नै हुन् । अन्यथा अहिलेसम्म आयोगले कुनै निर्णय गरेको छैन ।’

निर्वाचन आयोगको निर्णयपछि एकपटक दुवै पक्ष उत्साहित पनि देखिए तर, दुवै पक्ष उत्तिकै शसंकित पनि छन् । आयोगको अहिलेको निर्णय नेकपा (दाहाल–नेपाल पक्ष)का लागि लाभदायक छ । किनकी दाहाल–नेपाल पक्षले पार्टी विभाजनका लागि आवश्यक कोरम ४० प्रतिशत केन्द्रीय सदस्यको समर्थन र त्यपछिको बहुमत सदस्यको हस्ताक्षर गर्ने हैसियत राख्दछ ।

तर, ओली पक्षका लागि यो चुनौति सिर्जना भएको छ । ओली पक्षले अहिलेको स्थितिलाई हेर्दा एमाले नै ब्युताउनुपर्ने देखिन्छ ।

निर्वाचन आयोगले गरेको निर्णयलाई लामो समयसम्म पर्ख र हेरको अवस्थामा लिने हो भने दाहाल–नेपाल पक्षका लागि खतराको घण्टी पनि बन्नसक्छ । किनकी केन्द्रीय सदस्यहरुसँग घुसपैठ हुने सम्भावना बढेर जान्छ । ४० प्रतिशत समर्थन जुटाएर ओली पक्ष पनि विभाजित बन्न सक्छ ।

नेकपाको विवादका कारण वैशाख १७ र २७ गते तोकेको निर्वाचन नहुने पक्का छ । आयोगको निर्णय अनुसार अहिले बहुमतको आधारमा दाहाल–नेपाल पक्षले सूर्य चिन्ह र झण्डाको दाबी गर्छन्, त्यसमा ओली पक्षले पनि अड्डी कस्छन् यो विवाद आयोगमा पुग्छ ।

आयोगले पनि आवश्यक तयारी नपुगेको भन्दै मध्यावधि निर्वाचनलाई केही समयका लागि सार्न सक्नेछ ।

अन्तमा पुनः एकपटक निर्वाचन आयोगले मौका दिएकाले दुवै पक्षलाई मिल्नसक्ने पनि सुनौलो अवसर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्