कोरोनाविरुद्धको खोप लगाउँदै हुनुहुन्छ, यी कुरामा ध्यान दिनुहोस् ?


ओकेजनता डेस्क
१४ माघ २०७७, बुधबार

काठमाडौं । भारतले अनुदान दिएको १० लाख डोज कोरोनाविरुद्धको खोप आजबाट लगाइँदै छ ।

सरकारले नेपालमा कोरोना भाइरस संक्रमण सुरु भएको झन्डै एक वर्षपछि त्यसविरुद्ध खोप अभियान सुरु गर्दैछ । ढुक्क भएर खोप लगाउन सरकारी निकायका अधिकारीले आग्रह गरेका छन् । यो अभियान बुधबार बिहान १० बजे सातै प्रदेशबाट सुरु गरिँदै छ ।

‘खोप लगाएपछि कसैलाई कुनै असर देखिँदैन । कसै–कसैलाई सामान्य असर देखा पर्न सक्छ । जीउ दुख्ने, ज्वरो आउने, टाउको दुख्ने, अल्छी लाग्ने, कमजोरी महसुस हुन सक्छ । खोप लगाएको ठाउँमा दुख्न सक्छ । डाबर देखिन सक्छ । ती असर केही समयपछि आफैं हराएर जाने हुन्छ’, नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का सदस्यसचिव एवं कार्यकारी प्रमुख डा. प्रदीप ज्ञवालीले भने, ‘कतिपय अवस्थामा यदाकदा औषधि पनि आवश्यक देखिन सक्छ । केही असर देखिए पनि आत्तिनु पर्दैन ।’

परिषद्ले खोप भण्डारण, ढुवानी, खोप लगाउँदा र लगाइसकेपछिको प्रभावबारे निर्देशिका बनाएर अनुसन्धान गर्दै छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ६२ अस्पताल र १ सयभन्दा बढी खोप केन्द्रमा खोप लगाइने जनाएको छ ।

स्वास्थ्य सेवा विभागअन्तर्गत बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा. झलक गौतमले बुधबार ६५ भन्दा बढी जिल्लामा एकसाथ खोप लगाउन थालिने बताए । मुलुकभर ४ लाख ३० हजार जनालाई खोप लगाउने लक्ष्य राखी सातवटै प्रदेशमा खोप ढुवानी भइसकेको डा. गौतमले बताए ।

काठमाडौंमा सरकारी र निजी गरी ११ वटा ठूला अस्पतालमा खोप लगाउने व्यवस्था गरिएको छ । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा दिनेश गौतमले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्