प्रधानमन्त्रीको किचनमा सुजल बमका दुई घण्टा यसरी बिते


ओकेजनता डेस्क
१३ माघ २०७७, मंगलवार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली समय–समयमा केही नयाँ र फरक गरिरहेका नागरिकलाई समय मिलेसम्म सम्झिरहन्छन् ।

यो उनको कला पनि हो, नागरिकप्रतिको उत्तरदायित्व पनि । यसपाली प्रधानमन्त्रीको नजरमा परिन् बहिरा कलाकार सुजल बम । सुजल पनि अपत्यारिलो कला भएकी छन् । न सुन्न सक्छिन्, न बोल्न नै । तर उनको डान्स हेर्दा सपाङ्ग भन्दा कम छैन ।

आइतबार राष्ट्रियसभामा ‘अपाङ्गता भएका व्यक्तिहरुको समस्या र सबाल’ साक्षात्कार कार्यक्रममा प्रधानमन्त्री ओलीको सहभागिता हुने कार्यक्रम थियो । त्यहाँ सुजल बम र उनका बुवा टेक बम पनि उपस्थित थिए । सामान्य दिनजस्तै कार्यक्रममा सहभागी हुने र फर्किने योजनामा थिए टेक बम ।

तर, त्यहाँ फरक भयो । कार्यक्रममा प्रधानमन्त्री पुगिसकेका थिएनन् । टेक बमको मोबाइलमा प्रधानमन्त्रीका स्वकीय सचिव राजेश बज्राचार्यको फोन आयो ।

राजेशले भने, ‘टेकजी तपाईं कता हुनुहुन्छ ?’ टेक बमले जवाफ फर्काए, ‘म राष्ट्रियसभा गृहमा प्रधानमन्त्री सरिक हुने आपाङ्ता भएका व्यक्तिहरुको कार्यक्रम छ त्यहीँ आएको छुँ ।’

राजेशले भने, ‘सुजल नानी पनि आएकी छिन्, त्यसोभए प्रधानमन्त्री ओलीले तपाईंहरुलाई भेट्न चाहानुभएको छ त्यहीँ भेटौँ है ।’ टेक बमले, हस भन्दै फोन काटे ।

सुजल र उनका बुवाका लागि राष्ट्रियसभा गृहको कार्यक्रम थप उत्साहित हुने भयो । प्रधानमन्त्री आउनुपूर्व उहाँका स्वकीय फोन भेट्ने इच्छा राख्नु उनीहरुका लागि कल्पनाबाहिरको कुरा थियो ।

तिहार अगाडि भने सुजलका बुवाको मोबाइलमा प्रधानमन्त्री कार्यालयबाट फोन आएको थियो । करिब साँझ ७ः३० बजे आएको फोनमा सुजलका बारेमा प्रधानमन्त्रीले निकै चासो राखेका थिए ।

टेक बम भन्छन्, ‘तिहार अगाडि पनि प्रधानमन्त्रीका स्वकीय सचिव राजेश बज्राचार्यकै मोबाइलबाट फोन आएको थियो । सुजलको बारेमा प्रधानमन्त्रीले सबै जान्नुभएको रहेछ, घर डोटीको बोगटान, आँखा निलो, बहिरा कलाकार भनेर प्रधानमन्त्रीले सबै भन्नुभएको थियो । एक नागरिकको बारेमा प्रधानमन्त्रीले राखेको चासो साच्चै प्रेरणादायी छ ।’

आइतबारको दिन राष्ट्रियसभा गृहमा प्रधानमन्त्रीको आगमन भयो । प्रधानमन्त्री ओलीले आफ्नो मन्तव्य राख्ने क्रममा अपाङ्गता भएर पनि अरुलाई जगाउनेहरु जोन हकिङ, झमक घिमिरे लगायतको चर्चा गर्दै उनले भने, ‘उदयमान कलाकारहरु हुनुहुन्छ, जस्तो सुजल बम ।

यस्तो थुप्रो साथीहरु हुनुहुन्छ ।’ सुजल बमका लागि प्रधानमन्त्रीको मुखबाट यो नाम गुञ्जिनु निकै हर्षविह्वलको क्षण थियो । प्रधानमन्त्रीको सम्बोधनपछि सुजलसँग भेट्ने कार्यक्रम थियो ।

कार्यक्रम सकिएपछि प्रधानमन्त्री ओलीलाई भेट्न राष्ट्रियसभा गृह पछाडिको भीआइपी रुममा टेक बम र सुजल बम निस्किए । प्रधानमन्त्री ओलीले त्यहाँ सामान्य हालखबर सोध्नुभयो । फोटो सेसन पनि भयो । टेक बमले त्यो छोटो भेटमा सुजल पढ्ने विद्यालयको विषयमा कुरा निकाले । त्यहाँको स्थिति राम्रो नभएकोले सरकारबाट केही सुधारको पहल होस् । प्रधानमन्त्रीले यो विषयमा कुरा गर्न बालुवाटार आउन आग्रह गरे ।

प्रधानमन्त्रीले भने, ‘तपाईंसँग केही साधन छ, नभए मेरै गाडीमा जाऔँ । उतै बसेर कुरा गरौँला ।’

बमले भने, ‘साधन छ हामी आउँछौ उतै ।’

प्रधानमन्त्रीले पुनः अलि छिट्टै आउन र पछि आफ्नो अर्को कार्यक्रममा जाने सम्झाए । सुजल, उनका बुवा टेक बम र सुजल पढ्ने विद्यालयका दुईजना शिक्षक त्यसैदिन साढे तीन बजेतिर बालुवाटार लागे । बालुवाटारमा प्रधानमन्त्री पत्नी राधिका शाक्य पाहुना रुममा आइन्, सुजल र उनका बुवालाई स्वागत गरिन् । केही समयपछि प्रधानमन्त्री ओली तल ओर्लिए । विद्यालयको समस्याका विषयमा कुरा भयो ।

प्रधानमन्त्रीले विद्यालयको समस्याका विषयमा तीन दिनभित्र सचिवलाई रिपोर्टिङ गर्न आदेश गर्ने आश्वासन दिए । त्यसपछि एकपटक पुनः प्रधानमन्त्रीसँग सुजल र टेक बमले फोटो सेसन गरे । प्रधानमन्त्री निवासको कफिसँगै एकछिन् रमाइलो माहोल भयो ।

विद्यालयको विषयमा कुरा सकिएपछि प्रधानमन्त्री ओलीले टेक बमलाई माथि बोलाएर गोप्यमा भेट दिए । बम भन्छन्, ‘प्रधानमन्त्रीज्यूले मेरो पाखुरामा समातेर अर्को रुममा लैजानुभयो, देश र यहाँको राजनीतिका विषयमा केही कुरा गर्नुभयो ।

यो अवस्थामा आउन छोरी सुजलकै ठूलो हात छ, मैले सुजलका लागि ठूलो मेहनत गरेको छुँ, समाजमा अपाङ्गप्रति हेर्ने व्यवहारलाई परिवर्तन गर्न हौँसाएको छुँ ।’

करिब २ घण्टासम्मको बसाइमा पुनः मःम आयो, त्यहाँ उपस्थित सबैले खाजा खाए । टेक बमले आफ्नो विषयमा केही सुनाए । प्रधानमन्त्रीले डोटी बोगटानको मान्छे राम्रो गर्नुभएको छ भन्दै ढाडस दिए । त्यो जीवनकै अविस्मरणीय क्षण मनमा संगाल्दै दुई बाबुछोरी प्रधानमन्त्री निवासबाट बाहिरिए ।

प्रतिक्रिया दिनुहोस्