चेल्सीद्वारा प्रशिक्षक फ्र्यांक लाम्पार्ड बर्खास्त


ओकेजनता डेस्क
१३ माघ २०७७, मंगलवार

काठमाडौं । इंग्लिस प्रिमियर लिग क्लब चेल्सीले प्रशिक्षक फ्र्यांक लाम्पार्डलाई बर्खास्त गरेको छ ।

१८ महिनाअघि चेल्सीले आफ्ना पूर्व खेलाडी लाम्पार्डलाई प्रशिक्षकको जिम्मेवारी सुम्पेको थियो ।

अब लाम्पार्डको ठाउँमा पेरिस सेन्ट–जर्मेन (पिएसजी) का पूर्व प्रशिक्षक थोमस टुसिल आउने सम्भावना छ ।

४२ वर्षका लाम्पार्डको प्रशिक्षणमा चेल्सी अहिले प्रिमियर लिगको नवौँ स्थानमा छ । गएको हप्ता भएको खेलमा चेल्सी लेस्टर सिटीसँग पराजित भएको थियो ।

लिगका पछिल्लो पाँच खेलमा चेल्सी मात्रै एक खेलमा विजयी भएको छ ।

चेल्सीको प्रशिक्षकका रुपमा लाम्पार्डको अन्तिम खेल आइतबार राति भएको एफए कप अन्तर्गत लुटनसँगको खेल बन्यो ।

सो खेलमा चेल्सी ३–१ ले विजयी भएको थियो ।

लाम्पार्डले माउरिजिओ सारीलाई प्रतिस्थापित गरेर सन् २०१९ को जुलाईमा तीन वर्षको सम्झौता गरि चेल्सीमा प्रशिक्षक नियुक्त भएका थिए ।

सोमबार राति वक्तव्य जारी गरेर लाम्पार्डले क्लबलाई अघि बढाउन समय नपाउँदा निराश भएको उल्लेख गरेका छन् ।

तर प्रशिक्षकको भूमिका निर्वाह गर्न पाउँदा आफूलाई ठूलो गर्वको महसुस भएको उनले उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस्