सिंह फुस्केको तिल्के गोरुको फाँ फूँ मात्रै हो : प्रधानमन्त्री ओली


ओकेजनता डेस्क
१२ माघ २०७७, सोमबार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली दाङ पुगेर नेकपा (दाहाल–नेपाल पक्ष)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध खनिएका छन् ।

ओलीले आफ्नो सम्बोधनका क्रममा अधिकांश समय प्रचण्डको कटाक्ष गर्दै खर्चिए । प्रचण्डले काठमाडौंमा गरेको शक्ति प्रदर्शनमा बोलेको विषय, ‘अदालतले प्रतिनिधिसभा पुनःस्थापना नगरे शान्ति प्रक्रिया डिरेल हुन्छ’ भन्न अभिव्यक्तिलाई ओलीले ‘सिङ फुक्लिसकेको तिल्के गोरुको फाँ फू’ जस्तै भनेका छन् ।

दाङको लालमटीयामा सोमवार आयोजित नेकपाको जनसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रचण्डमा अशान्ति मच्चाउने क्षमता र दम नरहेको दाबी गरे । उनले अहिलेको धम्की तिल्के गोरुले बहरसँग सिंगौरी नखेल्दासम्मको फाँ फू जस्तै हो भने ।

ओलीले भने, ‘धेरै फुर्तिफार्ति गर्ने तिल्के गोरु एक दिन वहरसँग जुधेपछि सिङ भाँचिएर हिडे जस्तै यी तिल्केहरु पनि त्यस्तै हुन् । यिनले फाँ फू गर्छन् तर यिनका सिङ फुक्लिसके । यिनीहरूसँग अशान्ति मच्चाउने क्षमता पनि छैन, दम पनि छैन ।

यिनीहरूले केही गर्न सक्दैनन्, धाक धक्कु नलाए हुन्छ । तिघ्रा नठटाए हुन्छ, खुट्टा भ्याट भ्याट नगरे हुन्छ । आफूले अशान्ति र अराजकता नचाहेको भन्ने तर अदालतले फैसला आफू अनुकुल गरेन भने नत्र भन्ने खालका भाषा प्रचण्डले प्रयोग गरेको भन्दै ओलीले अब अशान्ति मच्चाउने धम्कीको अर्थ नरहेको बताए । सरकारले राम्रा काम गर्न खोज्दा खुट्टा समातेर चल्नै नदिएपछि अति भएर प्रतिनिधिसभा विघटन गरिएको ओलीको दाबी छ ।

उनले आउने चुनावले त्यस्ता तत्वहरूलाई झुक्किएर पनि सांसद जिताउन नहुने बताए । विभाजित नेकपाका अध्यक्ष प्रचण्डले शुक्रबार रत्नपार्कमा आयोजित आमसभामामा अदालतले प्रतिनिधिसभा पुनःस्थापना नगरे शान्ति प्रक्रिया डिरेल हुन सक्ने बताएका थिए ।

उनले यद्यपी आफू अशान्ति मच्चाउने र हिंसा निम्त्याउने पक्षमा नरहेको पनि बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्