निर्वाचन आयोगको निर्णयपछि प्रधानमन्त्री ओली पशुपतिनाथमा


ओकेजनता डेस्क
१२ माघ २०७७, सोमबार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली एकाबिहानै पशुपतिनाथको मन्दिरमा पूजा गरेका छन् ।

प्रधानमन्त्री ओली र प्रथम महिला पत्नी राधिका शाक्य दुवैले पूजा गरेका हुन् ।

प्रधानमन्त्री दम्पत्तीका साथमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकाल पनि सहभागी थिए ।

पशुपति मन्दिर क्षेत्रमा प्रधानमन्त्री ओलीले करिब एक घण्टा बिताएका थिए । सो अवसरमा ओलीले पशुपति क्षेत्रमा भएका, हुँदै गरेका र आगामी विकासका योजनाबारे जानकारी लिएका थिए ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले पशुपति क्षेत्रमा भएका विकासबारे जानकारी लिन प्रधानमन्त्री ओली पशुपति गएको बताए । ‘विकासका कामबारे हेरिदिन एकदिन आइदिनुपर्ने भन्ने थियो, त्यहीअनुसार आज समय मिलाएर जानु भएको हो,’ थापाले भने ।

पशुपति मन्दिरमा पूजा गरेपछि प्रधानमन्त्री ओली आजै दाङ देउखुरी जाने छन् ।

राप्ती नदीमा बनेको पुल उदघाटन र जनसभालाई सम्बोधन गर्न ओली दाङ जाने र आजै काठमाडौं फर्किने प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्