माधव नेपालको अध्यक्ष पद वैध की अवैध ?


ओकेजनता डेस्क
१२ माघ २०७७, सोमबार

काठमाडौं । निर्वाचन आयोगको निर्णयपछि नेकपाका थप संकट देखिएको छ । यतिबेला दाहाल–नेपाल पक्षबाट अध्यक्ष बनेका माधवकुमार नेपाललाई आयोगको निर्णयले ठूलो चोट पुग्यो ।

भर्खरै दाहाल–नेपाल पक्षबाट प्रथम अध्यक्षको मान्यता पाएका नेपाललाई ‘तातो दुध न निल्न, न ओकल्न’ भएको छ । निर्वाचन आयोगले नै मान्यता नदिएपछि नेपाल टिके अध्यक्ष बन्नेछन् ।

आयोगले नेकपाका दुवै पक्षको निर्णयलाई मान्यता नदिएर ‘नेकपामा साविककै विवरण कायम रहने’ निर्णय गरेपछि उनको अध्यक्ष पद स्वतः अवैध भएको छ । उनी तत्काललाई फेरि वरिष्ठ नेतामा झरेका छन् ।

दाहाल–नेपाल पक्षको गत ७ पुसमा बसेको केन्द्रीय समिति बैठकले पहिलो अध्यक्ष केपी ओलीलाई हटाएर माधव नेपाललाई दोस्रो अध्यक्षमा मनोनीत गरेको थियो ।

नेकपाको विधानमा दुई अध्यक्ष रहने व्यवस्था छ । केन्द्रीय समितिको बहुमतले ओलीलाई हटाएर नेपाललाई अध्यक्ष बनाएको सो समूहले बताए पनि आयोगले त्यसलाई विधिसम्मत ठहर गरेन । र, नेपालले मनोनीत भएको ३३ दिनमा अध्यक्ष पद गुमाएका छन् ।

प्रचण्ड–माधव पक्षको हिजो बसेको स्थायी समिति बैठकले ओलीलाई साधारण सदस्यसमेत नरहने गरी अनुशासनको कारबाही गर्ने निर्णय गरेको थियो । तर, अध्यक्षबाट हटाइएको निर्णय नै अवैध भइसकेपछि साधारण सदस्यबाट हटाउने निर्णयको कानूनी औचित्य रहेन ।

ओली पक्षले इतर समूहका कुनै नेतालाई निष्काशन गरेको थिएन । उसले अध्यक्ष प्रचण्डको कार्यकारी अधिकार खोसेको थियो भने विधान संशोधन गर्दै साविकको केन्द्रीय समितिलाई विस्तार गरेको थियो ।

५ पुसमा बसेको ओली पक्षको बैठकले पार्टीको ४४१ सदस्यीय केन्द्रीय समितिलाई विस्तार गर्दै ११ सय १९ सदस्यीय महाधिवेशन आयोजक समिति बनाएको थियो । पछि फेरि थप गरेर १५ सय १ पुर्याइएको थियो । यी दुवै विस्तार तत्कालका लागि अमान्य भएका छन् ।

प्रतिक्रिया दिनुहोस्