बेलायत : कोरोना संक्रमणबाट एकैदिन ६१० को मृत्यु


ओकेजनता डेस्क
१२ माघ २०७७, सोमबार

काठमाडौं । बेलायतमा कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट एकैदिन ६१० जनाको मृत्यु भएको छ भने ३० हजार ४ जना नयाँ संक्रमित थपिएका छन् ।

‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले दिएको पछिल्लो जानकारी अनुसार बेलायतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या अघिल्ला दिनहरुको तुलनामा केहि कमी आएको छ ।

आइतबार सार्वजनिक तथ्याँक अनुसार बेलायतमा कोरोनका मृतक संख्या ९७ हजार ९३९ पुगेको छ ।

संक्रमित संख्या ३० हजारको हाराहारीमा झरेको सन् २०२१ लागेपछिकै पहिलो हो । नयाँ संक्रमितसँगै बेलायतमा कोरोना संक्रमितको संख्या ३६ लाख ४७ हजार ४६३ पुगेको छ ।

हाल बेलायतका अस्पतालमा झन्डै ३८ हजारको संख्यामा कोरोना संक्रमितको उपचार भइरहेको छ ।

बेलायतको नेशनल हेल्थ सर्भिस (एनएचएस) ले बताएअनुसार हाल अस्पताल भर्ना हुनेको संख्या महामारीयताकै सबैभन्दा बढी छ भने पहिलाको तुलनामा दोब्बर बढी कोरोना संक्रमित अस्पताल भर्ना भएका छन् ।

यसैगरी कोरोना संक्रमणका कारण भेन्टिलेटर बेडमा उपचारार्थ बिरामीको संख्या चार हजार नाघेको छ, जुन महामारी यताकै नयाँ रेकर्ड भएको अधिकारीहरुले बताएका छन् ।

हालसम्म बेलायतमा ६३ लाख ५३ हजार ३२१ जनाले कोरोना विरुद्धको खोपको पहिलो डोज लिइसकेको स्वास्थ्य विभागको तथ्याँकमा उल्लेख छ ।

जसमध्ये चार लाख ६९ हजार ६६० जनाले खोपको दोस्रो तथा अन्तिम डोज पनि प्राप्त गरिसकेका छन्

प्रतिक्रिया दिनुहोस्