निर्वाचन आयोगको निर्णयपछि यस्तो बन्नेछ नेकपा !


ओकेजनता डेस्क
१२ माघ २०७७, सोमबार

काठमाडौं । निर्वाचन आयोगले आइतबार गरेको निर्णयका आधारमा नेकपामा थप अन्योलता छाएको छ ।

आयोगले नेकपाका दुवै पक्षको दाबीलाई बदर गर्दै पूर्ववत नेकपाको फाइल सुरक्षित रहेको जानकारी गराउने भएको छ ।

निर्वाचन आयोगको निर्णयपछि तत्कालीन नेकपाका अध्यक्ष केपी शर्मा ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’ नै रहेका छन् ।

अन्यथा दुवै पक्षले गरेका कारबाही र थपिएका सदस्यहरुले मान्यता पाउने छैनन् । ओली पक्षले केन्द्रीय सदस्यको संख्या १५०० बढी बनाएको छ तर, दाहाल–नेपाल पक्षले केन्द्रीय सदस्य चलाएको छैन ।

दाहाल–नेपाल पक्षले ओलीलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी कारबाही गरेको छ तर, ओली पक्षले दाहाललाई कारबाही गरेको छैन । ओली पक्षले प्रवक्ताको जिम्मेवारीबाट नारायणकाजी श्रेष्ठलाई हटाएको छ । जसमा प्रदीप ज्ञवालीलाई राखेको छ ।

यसरी हेर्दा नेकपाले अबको दुई वर्षभित्र फुट्नसक्ने अवस्था देखिदैन । अहिलेसम्म भएको क्रियाकलाप र गालीगलौजलाई फिर्ता लिएर दुवै पक्ष मिल्नुको विकल्प नभएको नेकपाका एक नेता बताउँछन् ।

आयोगको निर्णयसँगै सिंगो नेकपा पुनर्स्थापनाको आशा पलाएर गएको उनको भनाइ छ ।

आयोगका अनुसार दुवै पक्षको मागदावी अनुसार अभिलेखमा संशोधन, परिवर्तन वा हेरफेर हुनसक्ने देखिएन ।

आयोगमा साविककै विवरण कायम रहेको जानकारी दुवै पक्षलाई दिने निर्णय भएको छ ।

आयोगको निर्णयपछि अब दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड) तथा महासचिव विष्णु पौडेल नेकपाको कागजी नेतृत्वमा कायम रहेका छन् ।

निर्वाचन आयोगको निर्णयले दुवै पक्षसामु नयाँ अन्योल खडा भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि नेकपामा विभाजन देखिएको थियो ।

प्रतिक्रिया दिनुहोस्