घरबाट भागेर आएका देवर–भाउजूको मृत्यु


ओकेजनता डेस्क
११ माघ २०७७, आईतवार

काठमाडौं । बैतडीको पाटन नगरपालिका वडा नम्बर ८ का देवर–भाउजूको कञ्चनपुरमा मृत्यु भएको छ ।

घरबाट भागेर आएका उनीहरुको महेन्द्रनगरस्थित महाकाली अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

दुई दिनअघि घरबाट निस्केका २५ वर्षीय शेरीराम कोली २० वर्षीया भाउजूसहित शनिबार बिहान महेन्द्रनगर आइपुगेका थिए ।

जिल्ला प्रहरी कार्यालयका अनुसार कञ्चनपुरको बसपार्कस्थित पोखरा होटल एण्ड लजमा बसेका देवर–भाउजूको विष सेवनका कारण मृत्यु भएको हुनसक्ने आकलन गरिएको छ ।

‘भाउजूको हिजो बेलुकी ५ : १५ बजे र देवरको राति ११ : ३० बजे अस्पतालमा उपचारका क्रममा मृत्यु भयो’, जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले भने,’घटनाबारे विस्तृतमा अनुसन्धान हुदैछ ।’ देवर–भाउजू कहाँ जान यहाँ आइपुगेको भन्नेबारे समेत खुल्न सकेको छैन ।

‘उपचारमा रहेका कोलीले भाउजूले के को पात दिइन, खाँदा बिरामी परेँ भन्थे’, थापाले भन्नुभयो, ‘उनीहरु होटल आउँदा पनि सामान्य अवस्थामा नरहेको बुझिएको छ ।’

प्रहरीका अनुसार दुवैको शव महाकाली अस्पतालमा राखिएको छ । प्रहरीले शव परीक्षणपछि मृत्युको कारण खुल्न सक्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्