काठमाडौं । पूर्व माओवादी लडाकु लेनिन विष्टले प्रधानमन्त्री ओलीसँगको भेटबारे भ्रममा नपर्न आग्रह गरेका छन् ।
शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग भएको भेटवार्तापछि माओवादी पूर्व लडाकुका दुवै संगठन ओली नेतृत्वको नेकपामा प्रवेश गरेको भन्ने समाचार सार्वजनिक भएपछि विष्टले आइतबार एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीसँगको भेटबारे केही मिडियाले बंग्याएर समाचार प्रसारण गरेको भन्दै त्यसबारे कुनै भ्रममा नपर्न आग्रह गरेका हुन् ।
उनले एक प्रेस विज्ञप्ति जारी गर्दै खण्डन गरेका छन् ।
यस्तो छ विज्ञप्तिमा
बिषय– प्रेस विज्ञप्ति ।
माओबादी जनयुद्धमा होमिएका तमाम युद्ध लडाकु र अग्रमोर्चामा रहेर गणतन्त्रका लागि लडेका सम्पुर्ण दिदिबहिनी दाजुभाईहरुमा म लेनिन बिष्ट हार्दिक अभिभादन टक्र्याउन चाहन्छु । सहादत प्राप्त गरेका लडाकु साथीहरुका परिवार, घाइते लडाकु साथीहरु, जनयुद्ध र आन्दोलनमा घाइतेहरुका मागका सम्बन्धमा म विगत १४ बर्षदेखि लडिरहेको सबैलाई अवगत नै छ ।
हाम्रा तमाम माग राख्ने क्रममा मैले राज्य पक्षसंग बिभिन्न कोणबाट पहल गर्दे आएको छु । यसमा मलाई सबै साथीहरुको सहयोग, हौसला र साथ मिलिरहेको छ । सबैप्रति नमन गर्न चाहन्छु ।
यसै क्रममा मिति २०७७ साल माघ १० गते ९हिजो० हामीलाई प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले भेटघाटको लागि बोलाउनु भएको थियो । प्रधानमन्त्री पद सबैको साझा भएको र सबै जनताको केन्द्रविन्दु भएकोले प्रधानमन्त्री ज्यूको आग्रहमा हामी बालुवाटार गएका थियौं । बालुवाटार स्थित प्रधानमन्त्री निवासमा प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष ओली ज्युसंग भएको भेटघाटले धेरैलाई भ्रम पारेको हुनाले मैले यो विज्ञप्ति सार्बजनिक गर्न गइरहेको छु ।
जनताका माग राज्यसंग राख्नुपर्ने बाध्यताले प्रधानमन्त्रीसंगको हाम्रो भेटलाई स्वभाविक रुपमा लिन म तमाम न्यायप्रेमी जनतालाई अपिल गर्न चाहन्छु । अहिलेसम्म सत्तारुढ नेकपा बैधानिक रुपमा फुटिसकेको छैन । आजका मितिसम्म नेकपाको अध्यक्षमा केपी शर्मा ओली हुनुहुन्छ । बैधानिक रुपमा सत्तारुढ दलको अध्यक्ष र प्रधानमन्त्री पदमा उहाँ हुनुभएकोले हामीले उठाएका माग उहाँ समक्ष राख्न पाउनु हाम्रो अधिकार हो । राज्यले दिएको यो अधिकारलाई मैले र मेरा साथीहरुले प्रधानमन्त्री समक्ष राखेका हौं । भेटघाटको क्रममा प्रधानमन्त्री ओली ज्यूले हाम्रा माग संबोधन गर्ने बचन दिनुभएको छ । हामी यसमा सकारात्मक छौं । यसका लागि सम्माननीय प्रधानमन्त्री तथा सत्तारुढ नेकपाका अध्यक्ष ओली ज्यूलाई हामी हार्दिक धन्यबाद ज्ञापन गर्न चाहन्छौं ।
प्रधानमन्त्री ज्यूसंग भेटमा भएको कुरा यति नै हो । यो कुरालाई केहि मिडियाले बंग्याएर अतिरंजित गरेकोले स्पष्ट पार्न मैले यो विज्ञप्ति जारी गरेको हुँ । म प्रति लागेका लान्छाना झुठ्ठा छन् । यसमा विश्वास नगर्न सबैलाई अनुरोध गर्न चाहन्छु । मैले पीडित लडाकुका तर्फबाट कुनै व्यक्तिगत फाइदा लिएको छैन र भविस्यमा लिने पनि छैन । सरकारले सम्पुर्ण पीडित लडाकुका माग पुरा गर्नुपर्छ भन्ने मागमा म सधैं दृढ रहने बचनबद्धता प्रकट गर्न चाहन्छु । हरेक कुराका बास्तविकता एकातिर हुन्छ भने, अबास्तविक कुरालाई फैलाएर समाजमा भ्रम फैलाउँदा नोक्सान बाहेक केहि हुँदैन । अहिलेसम्म म मेरो नैतिकतामा अडिग छु र भविस्यमा न्यायका लागि सधैं पीडितको पक्षमा लड्ने सबैलाई विस्वास दिलाउनु चाहन्छु ।
– लेनिन बिष्ट