नारायणकाजीको रिस : एउटालाई हाँसो, अर्कोलाई गलपासो !


ओकेजनता डेस्क
१० माघ २०७७, शनिबार

काठमाडौं । राजधानीमा शुक्रबार आयोजित नेकपा (दाहाल–नेपाल पक्ष)को बृहत्त जनप्रदर्शनमा फरक दृष्य देखियो । विरोधसभाको सभापतित्व गरेका नेकपा (दाहाल–नेपाल पक्ष)का प्रवक्ता नारायणकाजी श्रेष्ठ झर्किए । उनी कार्यक्रम अवधिभर असन्तुष्ट देखिए । श्रेष्ठको मुहारमा कान्ती छाएन ।

श्रेष्ठ नेकपा (दाहाल–नेपाल पक्ष)को संघर्ष समिति संयोजक पनि हुन् । आखिर किन श्रेष्ठ कार्यक्रमस्थलमै यति धेरै असन्तुष्ट बने ? यसको कुनै राजनीतिक कारण नभई कार्यक्रमको व्यवस्थापनसँग सम्बन्धित विषय थियो ।

सभा सुरु हुनुअघि जुलुसलाई टुँडिखेल घुमाउने पूर्वनिर्धारित कार्यक्रम थियो । तर, भिड ठूलो भएको र कार्यक्रमस्थल भरिइसकेको भन्दै नेताहरुले सो योजना स्थगित गरे । नारायणकाजी भने शहिदगेट पुगिसकेका थिए । उनले टुँडिखेल परिक्रमा गर्नुपर्ने अडान लिए पनि अरुले मानेनन् र उनी कार्यक्रमस्थल फर्किए ।

आन्दोलनको कमाण्डरसमेत रहेका नारायणकाजीले आफूले भने बमोजिम नभएपछि अपमानबोध गरेका हुन् । उनको असन्तुष्टिको कारण यति नै हो । प्रचण्डलगायतका नेताले मान्छेहरु खचाखच भइसकेकाले जुलुस घुमाउँदा व्यवस्थापनमा समस्या हुने भन्दै टुँडिखेल घुमाउन नमानेपछि उनी आन्दोलन परिचालन कमिटीलाई बाइपास गरिएको भन्दै झोक्किएको स्रोतले जनाएको छ ।

कार्यक्रमको सभापतित्व गरेका नारायणकाजीले अन्तिममा भाषण गर्दै सभा विसर्जन गर्नुपर्ने थियो । तर, असन्तुष्टिका कारण उनी त्यसका लागि पनि तयार भएनन् । कार्यक्रम सञ्चालन गरेकी पम्फा भुषालले आफैं सभा विसर्जनको घोषणा गर्नुपर्यो ।

त्यसो त नारायणकाजी सुरुमा मञ्चमा समेत देखिएका थिएनन् । कार्यक्रम सुरु भइसक्दा आन्दोलनका कमाण्डर नै मञ्चमा नभएपछि पम्फाले उनको नाम लिएर डाकिन् । त्यसपछि बल्ल उनी मञ्चमा उक्लेर आसन ग्रहण गरेका थिए ।

नेकपा दाहाल–नेपाल पक्षका प्रवक्ता नारायणकाजी श्रेष्ठले यसबारेमा केही बोलेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्