बदलिँदै मौसम, पानी पर्ने सम्भावना कति ?


ओकेजनता डेस्क
१० माघ २०७७, शनिबार

काठमाडौं । मुलुकभर बदलिदो मौसमका कारण चिसो बढेसँगै जनजीवन प्रभावित भएको छ ।


मौसममा बद्ली भएपनि तत्काल पानी पर्ने सम्भावना नरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

काठमाडौंमा हिजोभन्दा आज केही न्यानो महशुस गरिएको छ । हिजो ३ दशमलव ५ डिग्री न्यूनतम तापक्रम रहेको काठमाडौंमा बिहानको तापक्रम ४ दशमलव १ डिग्री पुगेको छ ।

करिब एक साताअघिदेखि देशका धेरै ठाउँ बादल र कुहिरोले ढाके पनि पानी भने पर्न सकिरहेको छैन ।

मौसमविद् प्रतिभा मानन्धरका अनुसार पश्चिमी वायुको सामान्य प्रभाव परे पनि पानी पार्ने उल्लेख्य मौसमी प्रणाली नरहेकाले तत्काल पानी पर्ने सम्भावना नदेखिएको हो ।

यो वर्ष हिउँदे पानी पर्न ढिला भएको छ। अहिले सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशसहितका देशभरका धेरै ठाउँहरुमा कुहिरोले ढाकेको छ ।

तराईका जिल्लाहरुमा भने बाक्लो हुस्सु र कुहिरो लागेको छ । आउँदो तीन दिनसम्म नै मौसम यस्तै नै रहने जल तथा मौसम पूर्वानुमान महाशाखाको अनुमान छ ।

महाशाखाका अनुसार सोमबारसम्म नै देशका धेरै ठाउँमा बादल लाग्नेछ भने तराईका जिल्लाहरु हुस्स कुहिरोले ढाक्नेछ ।

तराईका धेरैजसो ठाउँहरुमा बिहानीपख बाक्लो हुस्सु र कुहिरो लाग्ने हुँदा चिसोबाट बच्न सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्