बोली दाहोर्याउँदा हिरो बन्ने अवसर सुवासचन्द्र नेम्बाङलाई


ओकेजनता डेस्क
१० माघ २०७७, शनिबार

काठमाडौं । २०६४ सालको संविधान सभा निर्वाचनमा इलाम जिल्ला क्षेत्र नम्बर २ बाट निर्वाचित भै संविधानसभाको अध्यक्षको रूपमा कार्यरत रहेका सुवासचन्द्र नेम्बाङलाई यतिबेला धेरैले खोजिरहेका छन् । संविधान निर्माणका क्रममा महत्वपूर्ण भूमिका निर्वाह गरेका नेम्बाङले त्यतिबेला बोलेको भिडियो समेत अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ ।

नेम्बाङले त्यतिबेला भनेका थिए, ‘जनताको बहुमतबाट निर्माण भएको संविधानमा प्रधानमन्त्रीलाई संसद विघटनको अधिकार छैन, अब मुलुक स्थीर बन्छ । विगतका नजीरलाई हेरेर संविधानलाई बलियो बनाइएको छ ।’ सारमा नेम्बाङले प्रतिनिधि सभालाई प्रधानमन्त्रीले विघटन गर्न नसक्ने बताएका थिए ।

अहिले नेम्बाङ हराएको सूचना निकाल्ने देखि उनलाई खोज्नेको ताँती छ, तर उनी केही बोल्न मान्दैनन् । केही सञ्चारमाध्यमको जिज्ञाशामा नेम्बाङले यतिमात्रै भने, ‘प्रतिनिधि सभा विघटनको विषयमा त्यतिबेला बोलेको र अहिले धेरै फरक छ सो विषय सर्वोच्चको संवैधानिक इजलासमा बहस भइरहेकाले अहिले केही बोलिन । सर्वोच्चले फैसला गरेको भोलिपल्ट बोल्छु ।’

हिरो बन्ने अवसर गुम्दै


तत्कालीन संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्बाङको एक बोलीले उनी हिरो बन्ने समय अझै बाँकी छ । सो समयमा बोलेको विषयलाई एकपटक आफ्नै मुखबाट दोहोर्याउँदा उनलाई निकै राजनीतिक लाभ मिल्ने देखिन्छ । उनको ठाउँमा अर्को कोही राजनीतिज्ञ हुन्थ्यो भने हिरो बनेर उदाउँथ्यो, एक नेकपा नेताले भने ।

सही कुरालाई अंगिकार गरेर हिरो बन्ने अवसर धेरैलाई जुर्दैन । तर, नेम्बाङले जुरेको अवसरलाई गुमाइरहेका छन् । सिंगो जमात प्रतिनिधिसभा विघटन संविधान विपरित रहेको बताइरहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्यान मुद्धाबाट बचाउने कानूनविद् कृष्णप्रसाद भण्डारी समेत प्रतिनिधि सभा विघटनको विरुद्धमा वकालत गरिरहेका छन् ।

आजको दिनजस्तै नेम्बाङलाई अर्को सही समय नआउन सक्छ । सर्वोच्चले फैसला गरिसकेपछि उनले बोलेको कुराले त्यति अर्थ नराख्ला तर, अहिले नेम्बाङको बोलीको धेरैलाई प्रतीक्षा छ । सिंगो जनलहर नेम्बाङको पक्षमा लाग्ने देखिन्छ । उनी राजनीतिक इतिहासका एक नरम र सच्चा मर्यादित पात्र हुन् । सभामुखको जिम्मेवारी सम्हालेका नेम्बाङको कार्यकालमा कुनै समस्या देखिएन ।

को हुन् नेम्बाङ ?

सुवासचन्द्र नेम्बाङको जन्म इलाम जिल्लाको सुन्तलाबारीमा भएको हो । उनले कानूनमा स्नातक (बीएल) गरेका छन् ।

संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्बाङ यसअघिको व्यवस्थापिका संसदमा पनि सभामुख हुनुहुन्थ्यो । त्यसअघि २०४८ र २०५२ मा गरी उहाँले दुई पटक राष्ट्रिय सभाको अध्यक्षको जिम्मेवारी सम्हालिसक्नुभएको छ ।

२०५६ सालको संसदीय निर्वाचनमा विजयी नेम्बाङ कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्री, सामान्य प्रशासन मन्त्री र संसदको सार्वजनिक लेखा समितिको अध्यक्ष समेत रहिसक्नुभएको छ । नेकपा(एमाले)को केन्द्रीय सदस्य र कानुन विभाग प्रमुख समेत रहिसकेका नेम्बाङ संविधानसभा सभासदमा इलामबाट निर्वाचित हुनुभएको हो ।

कानुन व्यवसायीका रूपमा परिचित र प्राध्यापनमा समेत संलग्न रहिसकेका नेम्बाङले नेपाल बार एसोसिएसनको महासचिवको जिम्मेदारी सम्हालिसक्नुभएको छ । उहाँ २०२९ सालमा अनेरास्ववियुको अध्यक्ष हुनुहुन्थ्यो ।

विद्यार्थी जीवनदेखि नै राजनीतिमा लागेका नेम्बाङ २०३३ सालमा राजकाज मुद्दामा जेल पर्नुभएको थियो । उहाँ त्रिभुवन विश्वविद्यालयबाट कानूनमा स्नातक हुनुहुन्छ । अध्ययन र समाजसेवामा उहाँको रुचि छ । उहाँका दुई छोरा र दुई छोरी छन् । अघिल्लो निर्वाचन पछि जनतालाई पु¥याएको सेवा र जनता सँगको निकट संबन्धले आफूलाई विजयी बनाएको ठान्ने सुवासचन्द्र नेम्वाङ संविधानसभामा सङ्घीय एवं समावेशी लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न क्रियाशील रहने बताउनुहुन्छ ।

२०६४ सालको संविधान सभा निर्वाचनमा इलाम जिल्ला क्षेत्र नम्बर २ बाट निर्वाचित भै संविधान सभाको अध्यक्षको रूपमा कार्यरत हुनुहुन्थ्यो । २०७० को संविधान सभा निर्वाचन पछि ओनसरी घर्तिमगर संविधान सभाको अध्यक्ष हुनुभयो ।

प्रतिक्रिया दिनुहोस्