रोकिएन रेस्लरको फासी, बिहानै मृत्युदण्ड


ओकेजनता डेस्क
२८ भाद्र २०७७, आईतवार

काठमाडौं । इरानले हत्या आरोपी रेस्लरलाई मृत्युदण्ड दिएको छ । अन्तर्राष्ट्रिय रुपमा फासी नदिनका लागि अपिल भए पनि इरानले २७ वर्षका रेस्लर नाविद अफ्कारीलाई झुण्ड्याएर मृत्युदण्ड दिएको इरानको सरकारी सञ्चारमाध्यमले जनाएको छ ।

उनलाई सन् २०१८ मा भएको सरकारविरोधी प्रदर्शनको क्रममा सुरक्षा गार्डको हत्यामा दोषी ठहर गरी इरानले मृत्युदण्ड दिएको हो । नाविदले आफूलाई गर्दै नगरेको अपराध कबुल गराउनका लागि गम्भीर यातना दिइएको बताएका थिए ।

नाविदलाई दिइएको मृत्युदण्डलाई मानवअधिकारवादी संस्था एम्नेस्टी इन्टरनेशनलले न्यायको गलत व्याख्या र न्यायको हत्याका रुपमा परिभाषित गरेको छ ।

चुहावट भएको सन्देशमा नाविदले भनेका छन्, ‘यदी मलाई फासी दिइयो भने तपाईँहरुले यो बुझ्नु कि एक निर्दोष व्यक्तिले उसको बलबुताले भ्याएसम्म प्रयास गर्दा पनि ज्यान जोगाउन सकेन र फासी पाउन बाध्य भयो ।’

उनलाई दक्षिणी शहर शिराजमा झुण्ड्याएर फासी दिइएको सरकारी सञ्चारमाध्यमले जनाएको छ । फासीअघि परिवारका सदस्यलाई भेट गर्न पनि नदिइएको नाविदका वकिलले बताएका छन् । इरानको कानूनले फासीअघि आफन्तसँग भेट गर्न पाउने व्यवस्था गर्छ ।

प्रतिक्रिया दिनुहोस्