बागमती प्रदेशमा कांग्रेसबाट को बन्दैछ मुख्यमन्त्री ?


ओकेजनता डेस्क
९ माघ २०७७, शुक्रबार

काठमाडौं । प्रतिपक्षी दल नेपाली कांग्रेस नेकपामा देखिएको विभाजनसँगै सक्रिय बनेको छ ।

नेकपा दुई पक्षमा विभाजित भएपछि भागबण्डामा आएको विभाजनमाथि कांग्रेसले पनि चाखे थाप्ने भएको छ । यतिबेला कांग्रेसलाई आफूले मागेको कुरा पूरा गर्न केही सहज देखिएको छ ।

नेकपाको ओली पक्ष कमजोर भएको प्रदेश १ र बागमती प्रदेशमा कांग्रेसको सहमतिपछि मात्रै सरकार बन्ने देखिएको छ । कांग्रेसले ओली पक्ष वा दाहाल–नेपाल पक्षलाई प्रदेश सरकारमा सहयोग गर्ने भन्नेबारे छलफल चलाएको छ ।

कांग्रेसले प्रदेश १ मा शेरधन राईलाई समर्थन गरेर बागमती प्रदेशमा आफ्नो पार्टीबाट मुख्यमन्त्री बनाउने नीति अख्तियार गरेको छ । तर, त्यसमा सहमति भने भइसकेको छैन । कांग्रेस सभापति शेरबहादुर देउवाले प्रदेश १ मा शेरधन राईलाई नै मुख्यमन्त्रीमा निरन्तरता दिएर बागमती प्रदेशमा आफ्नो मुख्यमन्त्री बनाउने लबिङ गरिरहेका छन् । तर, रामचन्द्र पौडेल पक्षले त्यसमा सहमति गरिसकेको छैन ।

यता, प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले अविश्वासको प्रस्ताव दर्ता भएका प्रदेश नं १ र वाग्मतीका सम्बन्धमा पार्टीको धारणा बनाउन छलफल प्रारम्भ गरेको छ ।

पार्टी सभापति शेरबहादुर देउवाले आज आफ्नो निवास बूढानीलकण्ठमा वरिष्ठ नेता रामचन्द्र पौडेलको उपस्थितिमा वाग्मती प्रदेशअन्तर्गतका पार्टी केन्द्रीय सदस्यसँग सो प्रदेशका सम्बन्धमा रायसुझाव लिएका छन् ।

सभापति देउवाले प्रदेशका मुख्यमन्त्रीविरुद्ध दर्ता भएको अविश्वास प्रस्ताव सम्बन्धमा केन्द्रीय सदस्यसँग सुझाव सल्लाह लिनुभएको र कुनै निष्कर्षमा नपुगेको काँग्रेस सहमहामन्त्री डा.प्रकाशरण महतले जानकारी दिए ।

छलफलमा सभापति देउवाले सो प्रस्ताव सम्बन्धमा सम्बन्धित प्रदेशका संसदीय दलसँग पनि सल्लाह गर्ने बताएका थिए । काँग्रेसको यही माघ १३ गते बस्ने केन्द्रीय कार्यसमिति बैठकमा सो विषयमा थप छलफल हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्