विशाल जनसागर उर्लेपछि प्रधानमन्त्री ओली आत्तिए


ओकेजनता डेस्क
९ माघ २०७७, शुक्रबार

काठमाडौं । उपत्यकामा नेकपा दाहाल–नेपाल पक्षले गरेको शक्ति प्रर्दशन शान्ति सम्झौतापछिको ऐतिहासिक प्रदर्शन भएको नेकपाले दाबी गरेको छ । काठमाडौंमा माघ ९ गते शुक्रबार (आज) २ लाख नेता, कार्यकर्ता उतार्ने तयारी गरेको नेकपा (दाहाल–नेपाल पक्ष)ले ठूलो जनलहर छाएको जनाएको छ । दाहाल–नेपाल पक्षको जनप्रदर्शनमा जनसहभागिता ठूलो देखिएको छ ।

देशका विभिन्न जिल्लाबाट काठमाडौंमा कार्यकर्ता भित्रिएका छन् । बाक्लो भिडले उपत्यकाको यातायात अस्तव्यस्त बनेका छन् । सवारी साधन व्यवस्थापन गर्न ट्राफिक प्रहरीलाई हम्मेहम्मे भएको छ । ओली पक्षले दाहाल–नेपाल पक्षमा यति ठूलो भिडको अनुमान गरेको थिएन । शक्ति प्रदर्शनको पूर्वसन्ध्यामा विहीबार साँझ अनेरास्ववियू लगायतका संगठनमाथि हस्तक्षेप गरेको प्रहरीले आज भने व्यवस्थापन गर्न सकेको छैन ।

काठमाडौंका चारै तर्फबाट ठूलो संख्यामा भिड भृकुटीमण्डपतिर लम्किएको छ । भृकुटीमण्डपमा नेकपा (दाहाल–नेपाल पक्ष)का अध्यक्ष पुष्पकमल दाहाल र माधवकुमार नेपाललगायतका नेताले सम्बोधन गर्ने कार्यतालिका छ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरी निरंकुशता लाद्न खोजेको भन्दै दाहाल–नेपाल पक्षले विरोध जनाइरहेको छ ।

काठमाडौंमा आज उर्लेको जनसागरले सरकारको प्रतिगामी कदमलाई थप प्रमाणित गरेको नेकपा नेता लिलामणि पोखरेलले बताए । मध्यावधि निर्वाचनबाट ५० लाख मतको आशा गरेका ओलीलाई अहिले फलामको चिउरा चपाएजस्तै भएको पोखरेलको भनाइ छ । गठबन्धन हुँदा ४३ लाख मात्रै मत प्राप्त गरेको नेकपाले अब ओली पक्ष एक्लैले ५० लाख समर्थन पाउनुपर्ने प्रधानमन्त्रीले अभिव्यक्ति दिँदै आएका थिए ।

काठमाडौंको आजको दृष्यले सरकारमा पनि दबाब सिर्जना गरेको नेकपा (दाहाल–नेपाल पक्ष)का नेता शेरबहादुर कुवँरले बताए । अहिले ओलीको मुटु काँपिरहेको कुवँरको भनाइ छ । कुवँरले भने, ‘प्रधानमन्त्री ओलीलाई आजबाट निन्द्रा नलाग्न सक्छ, लामो समयपछि डिप्रेसनमा जानुभन्दा पहिले सत्ताच्यूत गर्दा राम्रो ।’

प्रतिक्रिया दिनुहोस्