‘भगौडा ओलीले महानायक बन्ने समयमा खलनायकको बिल्ला भिरे’


ओकेजनता डेस्क
८ माघ २०७७, बिहीबार

काठमाडौं । नेकपा (दाहाल–नेपाल पक्ष)का नेता भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीले जनतामाथि निरंकुशता लाद्न खोजेको आरोप लगाउनुभएको छ ।

नेकपा कञ्चनपुर जिल्लास्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै रावलले प्रधानमन्त्री ओलीले पार्टीलाई फुटाएर आफू हाबी बन्ने सपना देखेको भएपनि त्यो पुरा नहुने बताउनुभयो ।

पार्टीको विधान बमोजिम बहुमत केन्द्रीय सदस्यको संख्या दाहाल–नेपाल पक्षमा रहेकाले संस्थापन आफूहरु रहेको रावलको दाबी छ ।

पार्टीको निर्णयलाई स्वीकार गर्न नसकेर प्रधानमन्त्री ओली भागेको भन्दै रावलले जनताको मतको समेत अपमान भएको बताउनुभयो ।

७१ वर्षको विरासतलाई जोगाएर मुलुकको विकासमा लाग्नुपर्ने भएपनि प्रधानमन्त्रीको दिमाग उल्टो चलेको रावलको भनाइ छ ।

नेकपा सुदूरपश्चिम सह–इञ्चार्ज खगराज भट्टले प्रधानमन्त्री ओली राजा ज्ञानेन्द्र र जंगबहादुर राणाको मार्गमा हिडिरहेको आरोप लगाउनुभयो ।

जनताले महानायक बनाउन खोजेको भएपनि सत्ता र शक्तिको आडमा बौलाएर प्रधानमन्त्री ओली खलनायक साबित भएको भट्टको आरोप छ ।

जनताको जनमतलाई ओली पक्षले गलत्याए पनि दाहाल–नेपाल पक्षले जोगाएर लोकतन्त्रालाई रक्षा गर्ने भट्टको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्