के प्रदेश विघटन हुन्छ ? यस्तो छ तयारी !


ओकेजनता डेस्क
८ माघ २०७७, बिहीबार

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा विभाजन आइसकेपछि मुलुकको राजनीतिक वृत्तमै हलचल ल्याएको छ । दुई ठूला वामघटक मिलेर देशको ठूलो शक्ति बनेको नेकपा फुटको अन्तिम चरणमा प्रवेश गर्दा विभिन्न अड्कलबाजी समेत हुन थालेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आफू कमजोर महशुस गरेपछि वा संघ सरकारलाई असर पर्ने देखिएपछि प्रदेश विघटनको बाटो अख्तियार गर्छन की भन्ने शंका आम मानिसमा छ ।

संविधानको धारा २ सय ३२ मा प्रदेशसभा विघटनसम्बन्धी व्यवस्था छ । धारा २ सय ३२ को उपधारा ३ मा छ, ‘कुनै प्रदेशमा नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रियता वा स्वाधीनतामा गम्भीर असर पर्ने किसिमको कार्य भएमा राष्ट्रपतिले त्यस्तो प्रदेश मन्त्रिपरिषद्लाई आवश्यकताअनुसार सचेत गराउन, प्रदेश मन्त्रिपरिषद् र प्रदेशसभालाई बढीमा ६ महिनासम्म निलम्बन गर्न वा विघटन गर्न सक्नेछ ।’

संविधानको सोही धाराको उपधारा ४ मा कुनै प्रदेश मन्त्रिपरिषद् र प्रदेश सभा निलम्बन वा विघटन गरेकोमा त्यस्तो कार्य ३५ दिनभित्र संघीय संसद्को तत्काल कायम रहेको सम्पूर्ण सदस्य संख्याको बहुमतबाट अनुमोदन गराउनुपर्ने र सो कार्य संघीय संसद्बाट अनुमोदन भएमा त्यस्तो प्रदेशमा ६ महिनाभित्र प्रदेश सभाको निर्वाचन हुने पनि उल्लेख छ । तर, अहिले संसद विघटनको अवस्थामा छ ।

संविधानको धारा १ सय ६८ को उपधारा ७ मा प्रदेशसभा विघटन हुने स्वाभाविक प्रक्रिया छ । विभिन्न पाँच उपक्रम सफल नभए छैटौँ विकल्पमा प्रदेश सभा विघटन हुन सक्ने व्यवस्था संविधानले गरेको छ ।

यिनै आधारहरुलाई हेर्ने हो भने प्रधानमन्त्रीका पछिल्ला गतिविधिले प्रदेशसभा मारमा पर्नसक्ने कानून व्यवसायीको तर्क छ । गण्डकी प्रदेश बाहेकका प्रदेशमा अल्पमतमा रहेका प्रधानमन्त्री ओली प्रदेश विघटनको तयारीमा रहेको नेकपा स्रोत बताउँछ ।

राष्ट्रियसभाको अधिवेशन अन्त्य र प्रतिनिधिसभा विघटनका सिलसिलेवार घटनाले प्रधानमन्त्री ओलीमाथि विश्वास गर्ने आधार नरहेको नेकपाका नेताको तर्क छ ।


प्रदेशसभा विघटन भएपछि मुलुक दलदलमा फस्ने देखिन्छ । बेला–बेला संविधान च्याँतिदा र व्यवस्थालाई एक दशकसम्म पनि टिकाउन नसक्दा मुलुकले ठूलो क्षय व्यहोर्नु परेको छ । विगतमा नेपालभन्दा कम प्रतिव्यक्ति आय भएको चीनको प्रतिव्यक्ति आय १० हजार भन्दामाथि पुगेको छ ।

नेपाल भन्दा कमजोर मुलुक विकसित भएका छन्, एक नेताले भने । अबको पुस्ताले समेत राजनीतिक स्थिरता नदेख्ने भएपछि मुलुक पश्चगमन तर्फ जाने र निरंकुशहरुले सत्तारोहण गरिरहने ती नेताको बुझाइ छ ।

प्रतिक्रिया दिनुहोस्