सुदूरपश्चिम प्रदेशमा दुई मन्त्री नियुक्त हुँदै


ओकेजनता डेस्क
७ माघ २०७७, बुधबार

काठमाडौं । सुदूरपश्चिम प्रदेशमा यतिबेला मन्त्री बन्न नेकपा नेताहरुको दौडधुप चलेको छ । नेकपा दाहाल–नेपाल पक्षको वर्चस्व रहेको प्रदेशमा मन्त्रीका आकांक्षी धेरै देखिएका छन् ।

प्रदेशमा रिक्त रहेको आर्थिक मामिला तथा योजना मन्त्रालय र भौतिक पूर्वाधार मन्त्रालयमा मन्त्री बन्नका लागि दशजना भन्दा बढी आकांक्षी देखिएका छन् । मन्त्री बन्न लबिङ गरिरहेका केही नेताहरुले आफूले मन्त्री नपाए कित्ता बदल्ने सम्मका धम्की दिइरहेको स्रोत बताउँछ ।

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले यतिबेला मन्त्रिमण्डल नै फेरबदल गर्ने की रिक्त स्थानमा भर्ने सम्बन्धमा छलफल गरिरहेका छन् । सकेसम्म विवाद मिलाउन मन्त्रिमण्डल नै पुनर्गठनको तयारीमा मुख्यमन्त्री भट्ट रहेको नेकपा स्रोत बताउँछ ।

मन्त्रिमण्डल नै पुनर्गठन भएपछि तारा लामा, मानबहादुर धामी, अक्कल रावल, दीर्घ सोडारी मन्त्री बन्ने पक्कापक्की छ । तर, रिक्त दुई मन्त्रालयमा मात्रै मन्त्री नियुक्त भएमा मानबहादुर धामी र अक्कल रावल मन्त्री बन्ने पक्का रहेको सुदूरपश्चिम नेकपा स्रोतले ओकेजनतालाई जानकारी दिएको छ ।

सुदूरपश्चिम प्रदेशमा नेकपा (दाहाल–नेपाल पक्ष) बलियो रुपमा प्रतिनिधित्व गरिरहेको छ । पछिल्लो समय मुख्यमन्त्री भट्टलाई नै नेताहरुले अप्ठ्यारोमा पारेको भन्ने समाचार पनि भ्रम मात्रै रहेको नेकपा सुपको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्