प्रदेश १ : प्रदेशसभामा झडपको संकेत, थपिए मर्यादापालक


ओकेजनता डेस्क
७ माघ २०७७, बुधबार

काठमाडौं । प्रदेश नम्बर १ को सातौँ अधिवेशनको पहिलो बैठक बुधबार बस्ने भएपछि मर्यादापालकको संख्या बढाइएको छ । प्रदेशसभा भवनभित्र मंगलबार मात्रै कुर्सीको व्यवस्थापन गरिएको थियो ।

विवादको स्थिति हुनसक्ने भन्दै मंगलबार कुर्सीलाई वइल्डिङ गराइएको थियो । नेकपा दाहाल–नेपाल पक्ष र ओली पक्षबीच विवाद बढेसँगै सुरक्षालाई मध्येनजर गरी मर्यादापालक बढाइएको हो । आजको बैठकमा दुवै पक्ष आक्रामक रुपमा प्रस्तुत हुने संकेत देखिएको छ ।

ओली पक्षले प्रचण्ड–माधव समूहका १६ जना सांसदलाई बैठक कक्षमा प्रवेश गर्न नदिने बताउँदै आएको छ । प्रचण्ड–माधव पक्ष भने बैठक कक्षमा प्रवेश गर्ने र मुख्यमन्त्री शेरधन राईलाई दलको नेताको रुपमा बोल्न नदिने योजनामा छ ।

नेकपा प्रमुख सचेतक एवम् ओली समूहका नेता बुद्धिकुमार राजभण्डारीले निलम्बनमा परेका १६ जना प्रदेशसभा सदस्य बैठक कक्षमा प्रवेश गरे बैठक सञ्चालन हुन नसक्ने बताए । पार्टीको संसदीय दलले कारबाही गरेका सांसदलाई प्रवेश गर्न नदिने ओली पक्षको तयारी छ ।

यता प्रचण्ड–माधव पक्षका नेता भने मुख्यमन्त्री शेरधन राईको सट्टा भीम आचार्यले प्रदेशसभालाई सम्बोधन गर्ने बताउँछन् । ओली समूहले भीम आचार्य, इन्द्रबहादुर आङ्बोसहित १६ जनालाई तीन महिनाका लागि निलम्बन गरेको छ । निलम्बनमा परेका प्रदेशसभा सदस्य बैठकमा प्रवेश गरे बैठक सञ्चालन गर्न नमिल्ने ओली समूहका राजभण्डारीले दाबी गरे ।

प्रचण्ड–माधव समूहका १६ जना सदस्यले प्रदेशसभामा प्रवेश गरे बैठक सञ्चालन नहुने ओली समूहले बताएपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले संसद अवरुद्ध गर्न नमिल्ने बताएको छ । ‘सरकारले संसद अवरुद्ध गर्न मिल्छ र ?’ नेपाली कांग्रेस प्रमुख सचेतक केदार कार्कीले भने, ‘सरकार आफैंले अधिवेशन बोलाएर अवरोध गर्न मिल्दैन ।’

पहिलो बैठक बुधबार बसेपछि दोस्रो बैठक मुख्यमन्त्री शेरधन राईको विवाहपछि आयोजना गर्ने सम्भावना छ । नेकपा प्रचण्ड–माधव समूह, ओली समूह र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस पनि मुख्यमन्त्रीको विवाहपछि बैठक बोलाउनु पर्ने पक्षमा छन् ।

यद्यपि बैठक बोलाउने अधिकार भने प्रदेश सभामुखलाई हुनेछ । सभामुखले बुधबार संसदको कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् ।

बैठकमा मुख्यमन्त्रीको विवाहपछि दोस्रो बैठक बोलाउन आफूले प्रस्ताव गर्ने नेकपा प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले बताए । ‘असहमति राजनीतिक मुद्दामा हो । व्यक्तिगत विषयमा छैन,’ उनले भने, ‘मुख्यमन्त्रीको विवाह पछि बैठक बोलाउन प्रस्ताव गर्छाैं ।’

प्रतिक्रिया दिनुहोस्