मन्त्री भट्टले भने चीनसँग व्यापार गर्न सकिदैन


ओकेजनता डेस्क
७ माघ २०७७, बुधबार

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले व्यापारको विषयमा चीन गम्भीर नभएको भन्दै आक्रोश व्यक्त गरेका छन् ।

चीनले व्यावहार नसुधारे व्यापार सम्बन्धमा पुनर्विचार गर्नुपर्ने अवस्था आउने मन्त्री भट्टको भनाइ छ ।

नेपाल इन्टर मोडल यातायात विकास समितिको २४ औं वाषिर्कोत्सवलाई सम्बोधन गर्दै मन्त्री भट्टले छिमेकी भएर पनि चीनले नेपालसँगको व्यापारमा गैर जिम्मेवारपूर्ण व्यवहार देखाएको आरोप लगाए ।

पहिले कोभिड र अहिले विभिन्न बहानामा नेपालसँग चीनले एक वर्षदेखि व्यापार रोक्दा त्यसको असर चौतर्फी रुपमा परेको मन्त्री भट्टको भनाइ छ ।

१०–१० महिनादेखि सामान रोकिएको बेला कन्टेनरको मूल्य समेत बढाएको भन्दै यो गलत भएको मन्त्री भट्टले बताए । ‘ व्यापारीलाई असहज बनाउने भनेको त यो सबै नेपाली जनतामाथिको मार हो, एउटा व्यापारीले एउटा वस्तु बिक्री गर्ला अर्को किन्ने त उपभोक्ता हो नि !’ उनले भने । नाकामा चिनियाँ अर्घेलोबारे आफूले प्रधानमन्त्रीसँग गम्भीर ढंगले प्रश्न उठाएको पनि भट्टको भनाइ छ ।

उनले सारमा भनेका छन्, ‘हाम्रो पडोसीको व्यवहारले असहज र अप्ठ्यारो भएको छ । अप्ठ्यारो अवस्थामा पनि जिम्मेवार देखिएनन् । कोभिडको नाममा हाम्रो सामान रोकिएको रोकियै छ । यस्तै हो भने चीनसँग व्यापार गर्ने कि नगर्ने ? यस बारेमा मैले प्रधानमन्त्री ज्यूसँग गम्भीर प्रश्न उठाएको छु । अब यो हो भने त यसरी कसरी चीनसँग कसरी व्यापार गर्ने ?


व्यापारीलाई असहज बनाउने भनेको त यो सबै नेपाली जनतामाथिको मार हो नि ! एउटा व्यापारीले एउटा वस्तु बिक्री गर्ला अर्को किन्ने त उपभोक्ता हो नि !’

प्रतिक्रिया दिनुहोस्