ओली झन क्रुर बन्ने संकेत, यस्तो सम्म हुनसक्छ !


ओकेजनता डेस्क
६ माघ २०७७, मंगलवार

काठमाडौं । भदौ २५ गते बसेको स्थायी कमिटी बैठकले विभाजन तर्फ उन्मुख नेकपालाई एकढिक्का बनाउने गरी छलफल अगाडि बढाएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार सञ्चालन गर्ने र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महाधिवेशनको तयारी गर्ने गरी सहमति भएको थियो । सोही विषयलाई निर्णयार्थ प्रस्तुत गरिएको थियो ।

असारको पहिलो दोस्रो साता फुटको संहारमा रहेको नेकपालाई भदौको स्थायी कमिटी बैठकले जोगाएको प्रष्टै देखिन्थ्यो । त्यसबीचमा प्रचण्डलाई मंसिरभित्र पार्टी अधिवेशनको तयारी गर्नु भनिएको थियो, भने प्रधानमन्त्री ओलीलाई पार्टीको निर्णय र सहमति बमोजिम सरकार चलाउन भनिएको थियो । दुवै पक्षको क्रियाकलाप हेर्दा सहमति अनुसार चलेको देखिएन । न प्रचण्डले महाधिवेशनको तयारी गरे, न ओलीले पार्टीले भने बमोजिम गरे ।

दुवै साढेहरुको जुधाइमा नेकपाका नेता कार्यकर्ता र जनता बीचमा परेका छन् । पछिल्लो गतिविधिले प्रधानमन्त्री ओलीको कदम असंवैधानिक देखाएको छ नै, यता प्रचण्डले पार्टीभित्र निर्माण गरेको गुटको पनि उत्तिकै दोष देखिन्छ । नेकपाको लहरलाई बुढा साढेले जोगाउन नसकेपछि भर्ख जन्मिएका र जुध्न तयार भएकाहरुलाई समस्या भएको छ ।

प्रधानमन्त्री ओली आगामी यात्रामा नरम बन्ने संकेत कम छ । उनले सकेसम्म राज्यको शक्ति प्रयोग गरेर आफ्नो अन्तिम यात्रा गर्ने संकेत देखिन्छ । अहिले प्रदेशसभा विघटन गर्ने भनी आएको धम्कीले समेत राज्यलाई स्थीर होइन, अस्थीर बनाउने संकेत गर्छ ।

प्रदेशमा कस्ता प्रतिनिधि आए, कति भ्रष्टाचार गरे, के काम गरे–गरेनन् समिक्षा गर्नु एकपाटो बनेको छ । तर पुनः २०१७ सालको राजा महेन्द्रको कू ले २०४६ मा मुक्ति पाएजस्तै, त्यसपछिको ज्ञानेन्द्रको कदमले सशस्त्रद्वन्द्व चलेजस्तै गरेर मुलुकलाई भड्कालोमा पार्नु राम्रो नहुने विश्लेषक बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्