नेकपा एकिकृतको तयारी : ‘ओली–दाहाल हिरो बन्ने अवसर’


ओकेजनता डेस्क
६ माघ २०७७, मंगलवार

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा वैचारिक लडाइँ वा सिद्धान्तको विषयमा बहस नभइ इगो र प्रतिशोधका कारण देखिएको परिदृष्यले राजनीतिक वृत्तलाई तताएको छ । विवादको मुख्य जड शक्ति सन्तुलन र सत्ता रहेको देखिन्छ । नेपाली कम्युनिष्टको राजनीतिमा ७१ वर्षीय विरासतलाई थेग्न नसकेको नेकपाका लागि आगामी दिशा झनै कष्टपूर्ण र पीडादायी हुने देखिन्छ ।

अहिले दुई धुर्वमा विभाजित रहेको नेकपा आगामी दिनमा चोइटिएर विभिन्न खण्डहर बन्ने बहसहरु सुरु हुन थालेका छन् । प्रधानमन्त्री केपी शर्मा ओली अध्यक्ष रहेको समूहमा ओलीपछिको विरासत थाम्न सक्ने र नेतृत्व लिनसक्ने नेताको कमि रहेको ओली पक्षकै नेताहरु बताउन थालेका छन् । एकै समूहमा एकै हैसियत बनाएका नेताहरुबीच नेतृत्व लिनका निम्ति आगामी दिनमा समस्या निम्तने देखिन्छ । अहिले विभाजनको समयमा एकिकृत हुने प्रयासले आगामी नेतृत्व लिने समयमा भने रुवाउने पक्का छ ।

यता, दाहाल–नेपाल पक्षमा पनि पार्टीलाई एकिकृत तुल्याउन समस्या हुने देखिन्छ । ‘पहिलो गासमै ढुंगा’ भनेझैँ दाहाल–नेपाल पक्षको महासचिव नियुक्त गर्नका निम्ति केही समस्या देखिएको छ । अध्यक्षमा आलोपालो प्रणाली बनाएपनि अहिले बरियताका आधारमा प्रथम अध्यक्ष माधवकुमार नेपाललाई मानिएको छ । यसको अर्थ दाहालले आफू निकट व्यक्तिलाई महासचिव बनाउनका निम्ति लबिङ गरेको पनि चर्चा हुन थालेको छ । पछिल्लो समय दाहाल–नेपाल पक्षको महासचिवका लागि नेकपा स्थायी समिति सदस्यद्वय भीम रावल र सुरेन्द्र पाण्डे आकांक्षी छन् ।

भीम रावल महासचिवको बलियो दाबेदार हुन् । सुदूरपश्चिममा वर्चस्व कायम राख्दै पार्टीलाई बलियो तुल्याउन रावलको ठूलो भूमिका छ । प्रधानमन्त्री ओलीलाई पनि सुदूरपश्चिम प्रदेश टाउको दुखाइको विषय बनेको छ । उपत्यका बाहिरको ओली पक्षको पहिलो आमसभा पनि कैलालीको धनगढीमा भएको थियो । त्यहाँ विभिन्न प्रदेशबाट मानिस उतारेर जनलहर सिर्जना गरिएको थियो । यसरी हेर्दा रावल दाहाल–नेपाल पक्षको महासचिवमा निर्विरोध सक्षम छन् ।

झलनाथ खनाल निकट मानिने सुरेन्द्र पाण्डेको पनि महासचिवमा दाबी देखिन्छ । झलनाथ पनि आफूले कुनै पदको प्रलोभन नगरेर महासचिव आफ्नो कित्ताबाट बनाउन चाहान्छन् । यता, दाहाल सकेसम्म पूर्ववत माओवादीबाट महासचिवको सिफारिस गर्ने पक्षमा उभिएका छन् । समग्रतामा हेर्दा मन ठूलो नबनाउँदा र पार्टीको नीति सिद्धान्तमा अडिग नहुँदा जतिसुकै समूह भएपनि दीर्घकालीन हुनसक्ने देखिदैन ।

अहिले प्रधानमन्त्री ओलीले विभिन्न भ्रम पैदा गरेर आफू बलियो बन्ने कसरत गरेपनि नेपाली कम्युनिष्टको राजनीतिमा भने यसले ठूलो असर पार्नेछ । जंगलमा रहेको विप्लव, छुट्टिएर गएका वैद्य, मोहनविक्रम लगायतकालाई मुलधारमा ल्याएर सिंगो कम्युनिष्टको एकता गरेर हिरो बन्ने समयमा गुटको प्रतिनिधित्वप गर्ने प्रधानमन्त्री ओलीलाई इतिहासले कसरी सम्झिनेछ, समयले बताउला ।

जनताको बहुदलीय जनवाद होस् या जनताको जनवाद होस् सबैको अन्तिम बिन्दु समाजवाद हो । समाजवादको यात्रामा कांग्रेस होस् वा कम्युनिष्ट दुवैको लाइन एकै देखिन्छ । अब विश्व परिष्कृत भइसकेको छ । स–साना विषयमा अड्किनु भन्दा सिंगो एकता अहिलेको बटम लाइन देखिन्छ । नेपाली राजनीतिक इतिहासमा सबै दलको आ–आफ्नै भूमिका छ । परिवर्तनमा योगदान पनि छ । व्यवस्था परिवर्तन भएपनि सोचमा परिवर्तन ल्याउन नसक्दा समस्या भइरहेकाले सबैले सोच बदल्न जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्