बालबालिकालाई शिक्षाबाट बञ्चित नगराऔँ : चौधरी


ओकेजनता डेस्क
५ माघ २०७७, सोमबार

काठमाडौं । चौधरी ग्रुपका अध्यक्ष एवं सांसद विनोद चौधरीले कुनै पनि बहानामा हाम्रा बालबालिका शिक्षाबाट बञ्चित हुन नहुने बताएका छन् ।

भारतका ‘द पोलिसी टाइम्स’ र ‘शिव नादर युनिभर्सिटी’द्वारा आयोजित ‘वल्ड एजुकेसन कन्फ्ररेन्स–२०२१’ मा प्रमुख अतिथिको रूपमा बोल्दै चौधरीले विश्वभरका मानवको जीवनस्तर उकास्न गुणस्तरीय शिक्षामा केन्द्रित हुनुपर्ने बताए ।

ठूला व्यापारिक संस्थाले सामाजिक उत्तरदायित्वका रूपमा गुणस्तरीय शिक्षाका लागि सघाँउने हो भने मानव विकासको फड्को मार्न सकिने उनको भनाइ छ ।

‘व्यक्तिको मौलिक हकका रूपमा रहेको शिक्षाले संसार चिहाउने बाटो देखाउँछ,’ उनले भने, ‘व्यक्तिगत र पेसागत जीवनमा आउने वैराग्यको अवस्थामा पनि उज्यालो किरण देखाउने काम शिक्षाले गर्छ। त्यसैले गुणस्तरीय शिक्षाको अर्को कुनै विकल्प छैन ।’

‘पेशा, व्यवसाय गर्नमात्र होइन, राम्रो शिक्षाले जीवनलाई सुन्दर बनाउँछ । जीवनप्रतिको दृष्टिकोण नै बदलिदिन्छ’, उनले थपे ।

सीजी कर्प ग्लोबलअन्तर्गतको सीजी एजुकेसनले नेपाल, भारतलगायत एसिया र अन्य मुलुकमा गुणस्तरीय शिक्षाका लागि परोपकारी काम गर्दै आएको पनि चौधरीले बताए ।

चौधरी फाउण्डेसनले नेपालमा डिजिटल क्लास रूम कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

नेपाली बालबालिकालाई विश्वब्यापी आधुनिक शिक्षा प्रणालीमा आवद्ध गर्न, सूचना र शिक्षाको पहुँचमा पुर्याएर उनीहरूलाई विश्वब्यापी रुपमा प्रधिस्पर्धी बनाउन यो कार्यक्रम लागू गरिएको हो ।

सम्मेलनअन्तर्गत ‘राष्ट्रिय शिक्षा नीति २०२०— शिक्षाको भविष्य र कार्यान्वयनको मार्गचित्र (एनईपी)’ नामक सत्रमा अध्यक्ष चौधरीको आत्मकथा ‘मेकिङ इट बिग’सँगै उनको जीवनबारेमा चर्चा गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्