कैलाली बहुमुखी क्याम्पस सुप विश्वविद्यालयको आङ्गिक क्याम्पस


ओकेजनता डेस्क
५ माघ २०७७, सोमबार

काठमाडौं । कैलाली बहुमुखी क्याम्पस सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको आङ्गिक क्याम्पस बनेको छ ।

योसँगै अब सुदूरपश्चिम विश्वविद्यालय देशकै दोस्रो ठूलो विश्वविद्यालय बनेको छ । विगत ३ वर्षदेखि कैलाली बहुमुखी क्याम्पसलाई सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको आङ्गिक क्याम्पस बनाउने प्रक्रिया सुरु भए पनि सहमति जुट्न सकेको थिएन ।

तर आइतबारदेखि भने कैलाली बहुमुखी क्याम्पस सरकारी क्याम्पस बनेको सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका उप–कुलपति प्राध्यापक डाक्टर अम्मराज जोशीले बताए ।

उनका अनुसार तत्कालका लागि १ सय १० जना प्राध्यापकको नियुक्ति दिने, प्राविधिक विषयका सबै विधामा पठनपाठन सुरु गराउने सहमतिसहित क्याम्पसलाई सुप विश्वविद्यालयको आङ्गिक क्याम्पस बनाउने सहमति भएको हो ।

सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको केन्द्र रहेको महेन्द्रनगरमा आइतबार जिल्ला समन्वय समिति कैलालीका संयोजक सूर्य थापा, कैलाली बहुमुखी क्याक्पस व्यवस्स्थापन समितिका उपाध्यक्ष नृपबहादुर वड र विश्व विद्यालयका उपकुलपति अम्मरराज जोशीले सहमति पत्रमा हस्ताक्षर गरेका छन् ।

अब आङ्गिक क्याम्पस बनेपछि कैलाली बहुमुखी क्याम्पसमा सञ्चालन हुने नयाँ भर्ना सुप विश्व विद्यालयले नै सञ्चालन गर्ने छ । तर यसअघि भर्ना भई अध्ययन गरिरहेका विद्यार्थीको परीक्षा भने त्रिभुवन विश्वविद्यालयले नै सञ्चालन गर्ने उप–प्राध्यापक जोशीले बताए ।

कैलाली बहुमुखी क्याम्पसका स्ववियु सभापति चुडामणी भट्टले आफ्नो पहिलो एजेण्डा पूरा भएको बताए ।

‘स्ववियू निर्वाचनमा मैले कैलाली बहुमुखी क्याम्पसलाई सरकारी क्याम्पस बनाउने एजेण्डा दिएको थिए’ उनले भने–‘आज मेरो एजेण्डा पूरा भएको छ ।’

सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका उप–कुलपति अम्मरराज जोशीका अनुसार आइतबारपछि सुप विश्व विद्यालयमा २० हजार बढी विद्यार्थी आवद्ध भएका छन् भने ६ सय बढी प्राध्यापक तथा शिक्षक रहेका छन् ।

यति ठूलो संख्यामा विद्यार्थी र प्राध्यापक त्रिभुवन विश्वविद्यालयमा मात्रै रहेको उप–कुलपति जोशीले बताए ।

उनले थप ६ वटा क्याम्पसलाई समेत आङ्गिक क्याम्पसमा जोड्ने गरी प्रक्रिया अगाडि बढाइएको बताए ।

प्रतिक्रिया दिनुहोस्