न ग्यास पाइप आयो, न पानी जहाज


ओकेजनता डेस्क
२ माघ २०७७, शुक्रबार

काठमाडौं । यतिबेला जहाँतहीँ राष्ट्रियताको विषयमा सवाल जवाफ हुँदै गरेको सुनिन्छ । चिया चौतारी होस् वा स्कूल कलेज, घरमा समेत नेकपामा दुई धार भएजस्तै दुई तर्फी बहस सुनिन्छन् । एक पक्षले प्रधानमन्त्रीको कदम सही भन्दै ताली पिट्न भ्याउछन्, अर्को पक्षले लोकतन्त्र खतरामा पर्ने भो भन्दै दुःख मनाउँछन् । दुवै पक्षका कुरा सुन्दा ठिकै लाग्छ । तर, त्यो समयमा एक निष्पक्ष आवाज बोकेको व्यक्ति बोल्न डराउँछ र बोल्दैन ।

मुलुकमा विभिन्न समयमा राजनीतिक परिवर्तन भएका छन् । लामो जहानीया राणा शासन फ्याकेर बहुदल स्थापना भएको मुलुकले शान्तीको स्वास फेर्न भने अझै पाएको छैन । २०१५ साल, २०१७ साल, २०४६÷०४७ साल, २०५२ साल, २०६२÷०६३ को आन्दोलन सबैका आआफ्ना प्राप्ति छन् । सबै आन्दोलनले मुलुकको शासन व्यवस्थालाई जनताका अधिकारसँग जोडेका छन् । लोकतन्त्र स्थापना भएको छ । जनताले बोल्न सक्ने र आफ्ना अधिकारको दाबी गर्न सक्ने माहोल बनेको छ ।

मुलुकले स्थायीत्व पायो, जनताका जनप्रतिनिधिले दुई तिहाईसम्मको बहुमत पाए, अब मुलुक सम्वृद्ध बन्छ र स्थायीत्व हुन्छ भन्दै खुसी मनाएका जनताहरुको अपेक्षा क्षण भरमै कुण्ठित बन्न पुगेको छ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा आएको विभाजनले यतिबेला नेपाली राजनीतिक वृत्तमा सरगमी छाएको छ । अहिले पद र सत्ताका निम्ति देखिएको विभाजनले जनताको मन समेत विभाजित हुन पुगेको छ । सधैँ शक्तिमा रहन चाहाने गलत प्रवृत्तिका कारण अहिले मुलुकको व्यवस्था तहसनहस हुने स्थितिमा छ ।

नेपाली कम्युनिष्ट राजनीतिमा ७१ वर्षे विरासत पाएको नेकपाले त्यो विरासत थेग्न सकेको छैन । दुई ठूला वामघटक एकता भएर मुलुकलाई निकास दिने र विकासको लहर ल्याउने घोषणापत्र सरकार बनेसँगै तुहिएका थिए । सरकार निर्माण भएको पहिलो वर्षको बजेटमै घोषणापत्रमा समेटिएका विषयले उचित प्राथमिकता पाएनन् । जनताका स–साना समस्यालाई ध्यान नदिई रेल र पानी जहाजको सपनाले सर्वसाधारणलाई विक्षिप्त तुल्याएको छ ।

विश्वमै लोप भइसकेको कोइलाबाट चल्ने रेललाई नेपालमा भित्र्याएर र समुन्द्र नभएको मुलुकमा पानी जहाजका सपना बाँडेर मत प्राप्त गर्दै गर्दा जनताको मतको मूल्यलाई नेतृत्वले कहिल्यै चिनेन । घर–घरमा खाना पकाउने ग्यास पाइपको लाइन कहिल्यै आएन । मेलम्ची करिब ३० वर्ष बढी भयो, राजनीतिक अस्थिरताका कारण काठमाडौंबासीको गौरवको आयोजना अझै अपूर्ण छ ।

समग्र राजनीतिक परिदृष्य घटनाक्रमलाई हेर्दा मुलुकको राजनीति सधैँ फोहोर खेलजस्तै भएको छ । अहिले आएर नेकपा नै विभाजनको तयारीमा रहँदा जनताको मतको अवमूल्यन भएको टिप्पणी शुरु हुन थालेको छ । अझै केही मिल्ने बाटाहरु बाँकी रहेकाले नेकपाले सुध्रिनुपर्ने जनताको आवाज छ ।

प्रतिक्रिया दिनुहोस्