धनगढीमा एकजना मृत फेला


ओकेजनता डेस्क
१ माघ २०७७, बिहीबार

काठमाडौं । धनगढीमा एकजना मृत भेटिएका छन्। हुलाकी सडकखण्ड अन्तर्गत धनगढी उप–महानगरपालिकाको मनहेरामा एकजना मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका सहायक प्रवक्ता प्रहरी निरीक्षक हिक्मत थापाले बिहीबार बिहान मनहेरा स्थित सडकखण्डमा पुरुष मृत अवस्थामा फेला परेको बताए।

उनका अनुसार मृतकको परिचय खुलेको छैन। हेलमेट लगाएको अवस्थामा भेटिएका ती पुरुषको शवसँगै सडक किनारको निर्माणाधिन कल्भर्टमा मोटरसाइकल समेत दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ।

उनको दुर्घटनाका कारण मृत्यु भएको प्रहरीले आशंका गरेको छ। घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्