बामदेवको अबको चलाखी !


ओकेजनता डेस्क
२८ पुष २०७७, मंगलवार

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) यतिबेला विभाजनको तयारीमा छ । नेकपाका दुई पक्ष पुष्पकमल दाहाल–माधव नेपाल र केपी शर्मा ओली आ–आफ्नै संगठन बिस्तारमा व्यस्त छन् ।

नेता कार्यकर्ताहरुलाई रिझाउन दुवै पक्षले आफ्नो दलबल प्रयोग गरिरहेका छन् । विभिन्न स्थानमा भइरहेका गुट भेलाको सम्बोधनले घोक्रो सुकिसकेको छ ।

अहिले विभाजनको अन्तिम तयारीमा रहेको नेकपाले एकले अर्कोलाई तर्साउन उपद्रो गरिरहेपनि निर्वाचनमा छुट्टाछुट्टै जान दुवैको हिम्मत छैन ।

राष्ट्रपतिले बैशाख १७ र २७ गते मध्यावधि निर्वाचन तोकिसकेकी छन् । तर, नेकपाको आधिकारिकताका विषयमा निर्वाचन आयोगमा विचाराधिन छ ।

नेकपा आफू भएको दुवै पक्षले आ–आफ्नो दाबी प्रस्तुत गरिरहेका छन् । यद्यपि साविकको नेकपामा दाहाल–नेपाल पक्ष बलियो देखिएको छ ।

बामदेवको चाल !


यतिबेला नेकपाको एकतामा बामदेव गौतमले अझै झिनो आश प्रस्तुत गरेका छन् । एकताको पक्षमा लागेको भन्दै बामदेवले आफ्नो कद बढाएपनि कार्यकर्ताहरुमा विश्वास भने छैन ।

अप्ठ्यारो समयमा दुश्मनको पनि आश भनेझै यतिबेला बामदेवले साच्चै एकताका निम्ति आफ्नो भूमिका प्रभावकारी तुल्याउलान् त ? वा सिकार भेट्टाएपछि पछाडि सर्लान त्यो समयले बताउला ?

यतिबेला प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पक्षमा माहोल तान्नका निम्ति केन्द्रीय सदस्य मात्र नभइ मन्त्री समेतको अफर राख्नुभएको छ । यतिबेला रक्षा मन्त्रालय रित्तः छ ।

रक्षा मन्त्रालय एक लोभ्याउने अस्त्र पनि हो । अहिले पद, सत्ता भन्दा पनि संविधानको रक्षार्थ सबै नेपाली एक हुनुपर्ने नेकपाका शीर्ष नेताहरु बताउँदै आएका छन् ।

संविधाननै रहेन भने मुलुक अस्थीर बन्ने, अस्थीरता भयो भने बाह्य शक्तिले चलखेल गर्ने लगायतका विषयहरु दाहाल–नेपाल पक्षले अगाडि सारेको छ । कांग्रेसका बहुमत सांसदहरु प्नि निर्वाचनको विपक्षमा देखिएका छन् ।

एक कांग्रेस नेताका अनुसार, ‘बुढी मरी भन्दा पनि काल पल्क्यो’ यसले कसैलाई राम्रो गर्दैन । लोकतन्त्रको सुन्दर पक्ष निर्वाचन भएपनि विधिनै मिचेर जान सकिन्न ।

जनताबाट बहुमत प्राप्त नेकपाले पार्टी मात्रै फुटाएको छैन, सिंगो देशलाई अस्थीरता तर्फ धकेलेको जानकार बताउँछन् । अबको बामदेवको पथ र सर्वोच्च अदालतको अन्तिम भरोसामा जनता, नेता कार्यकर्ता पर्खेको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्