सुदूरपश्चिम नेकपा : दाहाल–नेपाल की ओली पक्ष हाबी ?


ओकेजनता डेस्क
२७ पुष २०७७, सोमबार

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अहिले विभाजनको अन्तिम तयारीमा रहेको छ । पार्टीका दुई पक्षले आ–आफ्नै गुट चलाइरहेका छन् ।

तत्कालीन एमाले र एकिकृत माओवादी मिलेर बनेको वामठबन्धन (नेकपा)मा ४ सय ४६ जना केन्द्रीय सदस्य रहेका थिए ।

पार्टी फुटको नजिक गएका बेला ४४६ मध्ये ३१५ केन्द्रीय कमिटी सदस्य दाहाल–नेपाल पक्षमा देखिएका छन् भने बाँकी ओली र बामदेव गौतमतिर तानिएका छन् । कतिपय केन्द्रीय सदस्य अझै पर्ख र हेरको स्थितिमा रहेका छन् ।

नेकपाका उपाध्यक्ष बामदेव गौतमपनि पार्टी एकताको अभियान चलाइरहेको बताउँदै आएका छन् । अहिले गौतमले ५२५ केन्द्रीय कमिटी बिस्तारको तयारी गरेका छन् ।

यतिबेला आधिकारिक नेकपा कसको ? भन्ने प्रश्न उब्जिरहेका बेला दुवै पक्षले आ–आफ्नो दाबी प्रस्तुत गर्दै आएका छन् ।

वैधानिक तवरले दुई कम्युनिष्ट पार्टी एकता भएका बेला केन्द्रीय कमिटीमा समेटिएकाको बहुमतले आधिकारिक पार्टीको प्रतिनिधित्व गर्दछ । यसरी हेर्दा दाहाल–नेपाल पक्ष नेकपा माउ पार्टी र ओली पक्ष गुट भएको संकेत गर्दछ ।

यद्यपि ओली पक्षले नयाँ केन्द्रीय कमिटी बिस्तार गरेर ११९९ जना केन्द्रीय सदस्य बनाएको छ । अहिले पुनः तन्काएर १५०० बढी केन्द्रीय सदस्य छन् ।

ओली पक्षमा गाउँपालिका निर्वाचन हारेका देखि वडा सदस्यसम्म केन्द्रीय कमिटीमा अटाएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले काम गर्न नपाएको भन्दै नेकपा विभाजन गरेका हुन् । आफूसँग ६४ प्रतिशत बहुमत रहेको बताउने ओलीले पुनः काम गर्न नपाएको द्विअर्थी भाषा प्रयोग गरेको पाइएको छ ।

सुदूरपश्चिममा नेकपा
सुदूरपश्चिम प्रदेश यतिबेला ओली पक्षका लागि टाउको दुखाइ बनेको छ । सुदूरपश्चिम प्रदेशमा दाहाल–नेपाल पक्ष र ओली पक्षको ७०–३० रहेको छ ।

त्यस्तै कर्णालीमा पनि दाहाल–नेपाल पक्ष बलियो देखिएको छ । २५ गते धनगढीमा ओली पक्षले गरेको भेलामा उपस्थित सातहजार जतिको संख्या कर्णाली, सुदूरपश्चिम र काठमाडौंबाट गएको हो ।

त्यसले मास ओलीको पक्षमा भन्ने जनाउँदैन् । त्यहाँ दाहाल–नेपाल पक्षनै हाबी छ ।

सुदूरपश्चिम सरकार यतिबेला सुरक्षित रहेको छ । अहिले त्यहाँ नेकपाका प्रभावशाली नेता भीम रावल र उद्योग मन्त्री लेखराज भट्टले आ–आफ्नो पक्षमा माहोल रहेको जनाएता पनि दाहाल–नेपाल पक्षमा परिपक्व नेताको उपस्थिति छ ।

जिल्लादेखि स्थानीय तहसम्म पूर्ववत संगठन दाहाल–नेपाल पक्षमा देखिन्छ । अवसर नपाएकाहरु मात्रै ओली पक्षमा तानिएका छन् ।

प्रतिक्रिया दिनुहोस्