पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवश आज


ओकेजनता डेस्क
२७ पुष २०७७, सोमबार

काठमाडौं । राष्ट्रिय एकताका अनुयायी, धरोहर पृथ्वीनारायण शाहको दुई सय ९९ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस सोमबार मनाइँदै छ ।

पृथ्वीनारायणलाई सम्झिँदै देशका विभिन्न स्थानमा विविध कार्यक्रममा साथ मनाइँदै छ । विसं १७७९ पुस २७ गते गोरखामा जन्मनुभएका शाहकालीन राजा पृथ्वीनारायण शाहको योगदानको सम्मान स्वरुप उहाँको स्मरण गर्न लागिएको हो ।

पृथ्वीनारायण शाहलाई नेपाल एकीकरणका अभियन्ताको रुपमा सम्झने गरिन्छ । गोर्खाली राजा नरभूपाल शाह र रानी कौशल्यावतीका जेठा छोरा शाहले बाइसे चौबीसे राज्यमा छरिएर रहेका राज्यहरुलाई एकत्रित गरी आधुनिक नेपाल निर्माण गर्नुभएको थियो ।
भौगोलिक रुपमा नेपाल एकीकरण गरेकाले शाहलाई राष्ट्र निर्माताको उपमा समेत दिने गरिएको छ ।

पृथ्वीनारायण शाहको योगदानको स्मरण गरिरहँदा आलोचना पनि उत्तिकै हुने गरेको पाइन्छ । आलोचकहरुले एकल जाति–नश्ल, एकल संस्कृति, एकल धर्म र सम्प्रदायको वर्चस्व स्थापित गरेको भन्दै शाह राष्ट्र निर्माता नभएको तर्क पनि प्रस्तुत गर्ने गरेका छन् ।

पूर्वराजा ज्ञानेन्द्रको चिन्ता : देश कसरी जोगाउन सकिएला ?


पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा शुभकामना वक्तव्य जारी गर्दै पूर्वराजा ज्ञानेन्द्रले देश कसरी जोगाउन सकिएला भन्नेमा चिन्ताग्रस्त रहेको बताउनुभएको छ ।

पूर्वराजाले अहिलेको अवस्थामा देशलाई कसरी जोगाउन सकिएला भन्नेमा चिन्ताग्रस्त रहेको उल्लेख गर्दै जनचाहना बमोजिम अघि बढ्नु शाहवंशीय परम्पराको विशेषता रहेको दावी गर्नुभएको हो ।

देशको आवश्यकता र जनताको चाहना हुँदा शाहवंशीय राजाले राजगद्दी त्याग्नेसम्मको साहस र इमान्दारी दर्शाएको पूर्वराजाले वक्तव्यमार्फत बताउनु भएको छ । उहाँको भनाइ छ, ‘हामीले व्यहोरेको राजनीति कति इमान्दार र राष्ट्रकेन्द्रित छ, कति जनहित अनुकुल छ, त्यसको समीक्षा हुन अब विलम्व भइसकेको छ ।’

परिवर्तनका नाममा आफ्नो इतिहास, सभ्यता, धर्म, संस्कृति र एकता भत्काउँदै बाहिरी इच्छा पूरा गर्ने अवान्छित क्रियाकलाप मुलुकमा भित्रिएको राजा ज्ञानेन्द्रको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्