कामचलाउ मन्त्रीका शान !


ओकेजनता डेस्क
२६ पुष २०७७, आईतवार

काठमाडौं । पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरिन् । संसद विघटन गरेर वैशाख १७ र २७ गते मध्यावधि निर्वाचन तोकियो । त्यतिबेलादेखि नै हालको ओली नेतृत्वको सरकार कामचलाउ बनिसकेको छ ।

कहिल्यै मन्त्री हुन नपाउने र नसक्नेका लागि इतिहासमा कामचलाउ मन्त्रीको दज्र्यानी ठिकै हो । तर, वहालवाला दिग्गज लामो समय सरकारको नेतृत्व गरिरहेकाहरुलाई यो सरकार गठन प्रक्रियाले गिज्याएको धेरैले महसुश गरेका छन् । इतिहासमा यति सजिलै मन्त्री बन्न पाउनु र पार्टीका जनवर्गीय संगठनका नेताको सिफारिसमा मन्त्री बन्नु जति भाग्यशाली क्षण कहिले आउला र ?

ठिकै छ, मन्त्री बनियो, केही समय मन्त्रालयमा गजक्क बस्ने र आफूले जाने सुनेका कुराहरुमा कर्मचारीसँग परामर्श गर्दै अगाडि बढ्ने । उदेक लाग्दो विषय त के भने तीनवर्षमा गर्ने काम तीन महिनामा सक्छु भन्दै कुर्लिएका मन्त्रीलाई के भन्नु र खोई ? तीन महिनामा आफ्नालाई सुरक्षित पार्ने, पेरिफेरिकालाई क्यालकुलेटर दबाउन लगाउनेबाहेकका राष्ट्रिय गौरवका आयोजनाको डिपीआर समेत तयार गर्न सकिदैन ।

साच्चै विकास गर्ने हो, लहडबाजीमा नलाग्ने हो भने केही मन्त्रीका सचिवालयनै परिवर्तन गर्नुपर्ने देखिन्छ । अध्ययनशील, विवेकी मानिस साथमा राख्दा राम्रो सुरुवात गर्न सकिन्छ तर, बेतुकका तर्क दिँदै हिड्ने, मन्त्री मै हो, जसरी आफ्नो धरातल बिर्सनेलाई बिदा गर्नुपर्छ । बीच बाटोबाट टपक्क टिपेर ल्याइएको सचिवालयले मन्त्रीलाई पास होइन, फेल पक्कै गराउला ।

अहिले मन्त्रालयलाई पार्टी अफिसजस्तो र कर्मचारीलाई पार्टीका कार्यकर्ता सम्झने लहड चलेको सुनिन्छ । यदि सरकारले भनेको समयमा वैशाखमा निर्वाचन भए अबको ४ महिनामा के गर्न सकिन्छ र के एजेण्डा निर्वाचनमा लैजाने ?

प्रतिक्रिया दिनुहोस्