रुपन्देही र डडेल्धुरामा कुखुरापालनमा आकर्षण बढ्दो


ओकेजनता डेस्क
२६ भाद्र २०७७, शुक्रबार

काठमाडौं । रुपन्देहीको शुद्धोधन गाउँपालिकाका तीन युवा मिलेर लोकल कुखुराको व्यवसायिक पालनमा जुटेका छन् । युवाहरुले कुखुराबाहेक अन्य पशुपन्छीलाई पनि व्यवस्थित रुपमा पालन गरिरहेका छन् ।

रुपन्देहीमा ब्रोइलर कुखुरा पालनमा बढ्दो आकर्षण रहेका बेला शुद्धोधन गाउँपालिकास्थित तीनजना युवाहरु भने लोकल कुखुरा पालनमा जुटेका छन् । अन्य दुई जना साथीसँग मिलेर शुद्धोधन गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्ष हेमबहादुर खड्का स्थानीय जातको कुखुरापालनमा लाग्नुभएको हो । जुगडिहवामा फर्साटिकर एग्रो एण्ड रिसर्च सेन्टर प्रालि खोलेर अध्यक्ष खड्कासँगै उहाँका साथीहरु बालकृष्ण पराजुली र खोमबहादुर केसीले २०७६ साल असारबाट गाँउमै दुई हजार कखुरा हुर्काइरहेका छन् ।

फार्ममा घाँटी खुइले, उल्टे, सुल्टे, कडकनाथलगायत स्थानीय जातका कुखुरा पालिएको छ । भने फर्ममै ह्याचिङ मेसिन राखेर चल्ला उत्पादन गर्दै आइएको छ । हाल फार्ममा रहेका २ हजार कुखुराबाट झन्डै १० लाख आम्दानी हुने युवाहरुको भनाइ छ ।

३ बिगाहा जग्गा भाडामा लिएर दुई करोड लगानीमा युवाहरुले व्यावसायिक कृषि फार्म सुरु गरेका हुन् । लोकल कुखुरासँगै फार्ममा ७ सय चाइनिज हाँस, ४ वटा पोखरीमा २५ हजार माछाका भुरा, विभिन्न जातका ८० वटा बाख्रासमेत पालिएको छ ।

कुखुरा हुर्काउन ६ वटा फार्म बनाइएको छ । फार्ममा रहेका कुखुराले दैनिक ५ सय अण्डा दिने गरेका छन् ।

डडेल्धुरामा पनि पालन
डडेल्धुराको अमरगढी नगरपालिका वडा नम्बर ८ का गणेश ओझाले शिक्षण पेशा छाडेर व्यवसायिक कुखुरापालनबाट मनग्य आम्दानी गरिरहनुभएको छ ।

डडेल्धुराका विभिन्न चार विद्यालयमा ८ वर्ष शिक्षण पेशा गर्नुभएका ओझाले अहिले कुखुरापालन थाल्नुभएको हो । कुखुरापालनबाट बजार र मौसमले साथ दिएको वर्ष चारलाख बढी आम्दानी हुने गरेका उहाँको भनाइ छ ।

२ सय चल्ला कुखुरापालन गरिरहेका ओझाले चल्ला र दानाको अभाव झेल्नुपरेको छ । सरकारी अनुदान तथा क्षमता अभिवृद्धिका कार्यक्रमलाई स्थानीय तहले प्राथमिकता दिएमा धेरै युवा कृषि पेशा अंगाल्ने ओझाको विश्वास छ ।

प्रतिक्रिया दिनुहोस्